Logo

‘फितलो अनुसन्धानले भ्रष्टाचार मुद्दामा सफाइ’



काठमाडौं, साउन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमजोर प्रमाण र फितलो अनुसन्धानका कारण विशेष अदालतमा दर्ता भएका अधिकांश भ्रष्टाचार मुद्दाले सफाइ पाएका छन्। गत वर्ष मात्रै विशेष अदालत काठमाडौंबाट फैसला भएका ३३१ मध्ये २६८ मुद्दाका आरोपितले सफाइ पाएका छन्। ४१ मुद्दामा ठहर, २५ मुद्दामा आंशिक ठहर भएको छ भने एउटा मुद्दा मुल्तबीमा राखिएको छ। विशेष अदालतका अनुसार दर्ता गरिएका अधिकांश मुद्दाका आरोपितले सफाइ पाउनुको कारण कमजोर अनुसन्धान र अभियोजन मानिएको छ।

अख्तियारले दर्ता गरेका नक्कली प्रमाणपत्रका ३० मुद्दामध्ये २५ वटामा ठहर हुँदा ५ वटाले सफाइ पाएका छन्। दर्ता गरिएका मुद्दामध्ये सबैभन्दा बढी ठहर हुनेमा नक्कली प्रमाणपत्रसम्बन्धी छन्। तीबाहेक सबैभन्दा बढी दर्ता हुने घुस रिसवतअन्तर्गतको भ्रष्टाचार मुद्दामा अधिकांशले सफाइ पाएका छन्।

गत वर्ष फैसला गरिएका २५९ थान मुद्दामध्ये २४० थान मुद्दाका प्रतिवादीले सफाइ पाएका छन्। घुस रिसवतसम्बन्धी मुद्दा प्रायजसो सरकारी कर्मचारीसँग सम्बन्धित छन्। सेवाग्राहीबाट अनेक बहानामा घुस लिँदालिँदै पक्राउ गरिएका मुद्दामा अख्तियारले मुद्दा चलाउने गरेको छ। ती साना परिमाणका भनिएका मुद्दामा विशेष अदालतले सफाइ दिने गरेको छ।

गैरकानुनी सम्पत्तिसम्बन्धी पाँचवटा मुद्दा फैसला भएका छन्। तीमध्ये तीन मुद्दाले सफाइ पाएका छन् भने दुईवटा आंशिक ठहर भएका छन्। सम्पत्ति शुद्धीकरणमा दुईवटा मुद्दा फैसला भएकामध्ये एउटा ठहर भएको छ भने एउटाले सफाइ पाएको छ।

गत वर्ष मात्रै विशेष अदालत काठमाडौंबाट फैसला भएका ३३१ मध्ये २६८ मुद्दाका आरोपितले सफाइ पाएका छन्। विशेष अदालतका अनुसार दर्ता गरिएका अधिकांश मुद्दाका आरोपितले सफाइ पाउनुको कारण कमजोर अनुसन्धान र अभियोजन मानिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्