Logo

चुनावको घोषणा नहुँदै देउवा र प्रचण्डले सिट बाँडफाँटको टुंगो लगाउने



काठमाडौं, २ साउन । प्रतिनिधि सभाको निर्वाचनको घोषणा अघि नै सत्ता गठबन्धनका दलबीच प्रतिनिधि सभामा सिट बाँडफाँटको टुंगो लगाउने प्रयास घनीभूत भएको छ । ४ मंसिरमा चुनाव गर्न सरकार ठिक्क परेपछि गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लगाउने गृहकार्य बढेको हो ।

प्रत्यक्षतर्फ चुनाव लड्ने सिट बाँडफाँडमा नेपाली काँग्रेसले ९० देखि १०० सिट लिने र बाँकी गठबन्धनका अन्य दललाई छाड्ने गरी सहमति बन्न लागेको हो । सहमति बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल हुँदैछ ।

प्रचण्डले काँग्रेसले ९० लिएर ७५ सिट गठबन्धनका अन्य दलले लिने गरी सहमतिको सूत्र तयार गरेको बुझिएको छ । आधा आधा भागवन्डाको कुरा पनि भइरहेको बुझिएको छ ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको थियो । यसकारण पनि प्रचण्ड र माधव नेपालले काँग्रेसले आधा र गठबन्धनका दलले आधा सिट पाउनुपर्ने अडान लिइरहेको विश्वस्त स्रोतले बताएको छ ।

सकभर गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभामा सिट बाँडफाट टुंगो लगाइहाल्ने योजना बनाएका छन् । अहिले नै सहमति गरेर जाँदा चुनावी तयारी पूरा हुने सम्मको छलफल भएकाले चाँडै कुरा मिलाउने प्रयास चलेको हो ।

गठबन्धनमा नेपाली काँग्रेसले अधिकतम ९०, नेकपा माओवादी केन्द्रले अधिकतम ४४, नेकपा एसले अधिकतम १८, जसपाले अधिकतम १५ र राष्ट्रिय जनमोर्चाले २ देखि ३ सिटसम्म पाउने गरी छलफलहरु भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्