Logo

पार्टीहरूको संगठनात्मक स्थिति विचार गरेर तालमेल गर्छौंः कांग्रेस प्रवक्ता



काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयमा कसैले फरक मत नराखेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. महतले भने, “पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा गठबन्धनबारे विभिन्न कुरा आयो होला । तर गठबन्धन गर्नैहुन्न भन्ने कुरा आएको छैन । आगामी चुनावमा गठबन्धन गरेर जाने सर्वसम्मत निर्णय भएको हो । यसमा कसैले फरक मत राखेको छैन ।”
नेकपा एमालेलाई हराउन कांग्रेसले गठबन्धन गर्नैपर्ने भन्ने पत्रकार धमलाको प्रश्नमा डा. महतले भने, “नेकपा एमाले कहाँ एक्लै जाँदै छ र ? गठबन्धनका लागि उसले पनि भरपूर प्रयास गरिरहेको छ । हामी एमालेलाई पत्तासाफ गराउने भन्दा पनि बहुमतको लक्ष्य लिएर अगाडि बढेका हौं ।”
उनले मिश्रित निर्वाचन प्रणालीका कारण एकल बहुमत कठिन रहेको पनि स्वीकार गरे । डा. महतले थपे, “निश्चय पनि तालमेल जटिल नै विषय हो । तर असम्भव छैन । स्थानीय तहमा हामीले त्यसको अभ्यास गर्यौं । आगामी निर्वाचनमा पनि तालमेलमा जाने निर्णय गरेका छौं । आम भावना र पार्टीको संगठनात्मक स्थितिलाई मध्यनजर गरेर आवश्यक निष्कर्षमा पुग्छौं । उम्मेदवार मात्र बन्नेभन्दा पनि परिणाम हेरेर गठबन्धन गर्ने हो ।”
निर्वाचन घोषणासँगै संसद् भंग नहुने पनि कांग्रेस प्रवक्ताले बताए । साथै उनले अर्थतन्त्रको संकट निवारणका निम्ति श्वेतपत्र जारी गर्नुपर्ने पनि औंल्याए । डा. महतले भने, “अर्थतन्त्रमा कतिपय अप्ठ्यारा र चुनौती छन् । तर अर्थतन्त्र संकटमा छ वा श्रीलंकाको बाटोमा छ भनेर व्यापक अफवाह फैलाइएको छ । यस सम्बन्धमा सरकारले श्वेतपत्र जारी गरोस् भनेर पार्टीले आग्रह गरेको हो ।”

 



प्रतिक्रिया दिनुहोस्