Logo

पशुपतिमा जुत्ता–चप्पल राख्नै सकस, महंगो जुत्ता चप्पलमा पहरा प्रहरी र सडक बालकालिकाको तारो



काठमाडौं, साउन ३। जीवनराम श्रेष्ठ गत असार २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएपछि दलबलसहित पशुपति क्षेत्र गए ।

पशुपतिनाथको मूल प्रवेशद्वार अगाडि उनले खिचाएको तस्बिरको सामाजिक सञ्जालमा निकै आलोचना भयो । कारण थियो– अन्य भक्तजनले जुत्ता–चप्पल लगाएर जान नपाइने ठाउँमा उनीहरूले जुत्ता लगाएर खिचिएको तस्बिर ।

मन्त्री श्रेष्ठको टोलीले जुत्ता लगाएर गएको ठाउँ जुत्ता–चप्पल निषेधित क्षेत्र नै भने होइन । पहिले सर्वसाधारण पनि त्यस ठाउँमा जुत्ता–चप्पल लगाएरै जान पाउँथे । त्यसपछि जुत्ता–चप्पल राख्ने ठाउँ सारियो । सारियोमात्र होइन, बिरालाले छाउरा सारेजस्तै गरी सारिँदै छ । हालसम्म छ ठाउँमा सारिसकिएको छ ।

पछिल्लो पटक जयबागेश्वरीबाट सिधै तल झरेर आर्यघाट जाने बाटोको बायाँतर्फ (गोल्डेन गेटअगाडि) र कैलाशडाँडा जाने बाटोमा रहेको गेट नम्बर ३ मा सारिएको छ । तर तीर्थालुले यी ठाउँ विरलै देख्छन् । त्यसमाथि फूल–प्रसाद बेच्नेले आफ्नै पसलछेउ जुत्ता–चप्पल राख्दा हुन्छ भनेर राख्न लगाउँछन् ।

प्रहरीले फेलापारेपछि ती जुत्ता–चप्पल बोरामा हालेर फ्याँकिदिन्छन् । चर्को घाममा ढुङ्गा र इँटामा पैताला पोल्दै हतार–हतार जुत्ता–चप्पल लगाउन आउने भक्तजन जुत्ता–चप्पल खरिद गर्न कि पसलतिर दगुुर्नुपर्छ भने कि खाली खुट्टा घर फर्कनुपर्ने हुन्छ । साउन लागिसकेको छ । साउनको पहिलो सोमबार हजारौँ श्रद्धालु महिला पशुपतिनाथको दर्शन गर्न लाम लागे । तर उनीहरूका जुत्ता–चप्पल पशुपति परिसरमा धेरै छरपस्ट रहे ।

महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि भीड बढ्दै गएको छ । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष साउनमा पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजन यस वर्ष भने चान्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्र धाउन थालेका छन् । जुत्ता–चप्पल लकर कक्ष सहजै देखिने ठाउँमा नहुँदा दर्शनार्थीले समस्या भोग्ने गरेका छन् ।

२०७५ फागुनमा माछापुच्छ«े बैङ्कले दर्शनार्थी तथा पर्यटकले ल्याउने सरसमान सुरक्षाका निम्ति कोषलाई हस्तान्तरण गरेको थियो । पशुपति विकास कोषले त्यहाँबाट जुत्ता राख्ने ठाउँ घ्याम्पेपाटीमा, रुद्रिगडेश्वर, झार सत्तल क्षेत्र (हालको एसबीआई बैङ्कको शाखाअगाडि), वासुकीचोक हुँदै अहिले गोल्डेन गेटको अगाडि सारेको छ । फेरि पनि त्यसलाई गौशालाबाट आर्यघाट जाने बाटोबाट उत्तरतिर रहेको मैदानमा सार्ने कोषको तयारी छ ।

हाल सञ्चालनमा रहेको लकर परिसरभित्र छिर्ने गोल्डेन गेटको बायाँतर्फ हुनुपर्ने हो तर दर्शनार्थीको सहजै आँखा पर्ने तथा मन्दिरबाट नजिकको दूरीमा नहुँदा उनीहरूले असुविधासँगै समय–समयमा जुत्ता–चप्पलसमेत हराउँदै आएका छन् ।

लकरको क्षमता त पाँच हजार जोर जुत्ताको छ तर दर्शनार्थीले सहजै देख्ने स्थानमा नहुँदा गोल्डेन गेटनजिकै सडक–पेटी र फूल–प्रसाद बेच्ने पसलमा जुत्ता–चप्पल राख्दै आएका छन् । त्यसरी असुरक्षित रूपमा राखिएका महँगा जुत्ता–चप्पल सडक बालबालिकाले लगेर बेच्दै आएका छन् । त्यसमा पशुपति विकास कोष मौन देखिएको छ ।

लकर बिहान चारदेखि साँझ आठ बजेसम्म खुला हुनुपर्ने हो तर साँझको आरती दर्शन गर्ने समयमा बन्द भइसकेको हुन्छ । बेलुका छ बजेपछि दर्शनार्थीले लकरको सुविधा प्रयोग गर्न पाउँदैनन् । कोषले गोल्डेन गेटभित्र छिरेर मन्दिर दर्शन गर्न जाने बाटोमा श्रद्धालुका लागि बीच–बीचमा रातो, हरियो कार्पेट बिछ्याइएको छ । तर जुत्ता–चप्पल राख्ने स्थलदेखि मन्दिरसम्म ठाउँ–ठाउँमा कार्पेटसमेत व्यवस्था नहुँदा तातेका ढुङ्गाले पैताला पोल्ने गरेको दर्शनार्थीको गुनासो रहेको छ ।



प्रतिक्रिया दिनुहोस्