काठमाडौं, ३ साउन । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारी क्रियाकलाप नसच्चिईकन अर्थतन्त्रका बारेमा श्वेतपत्र जारी गर्नुको कुनै अर्थ नरहने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् डा. अधिकारीले भने, “सर्वसाधारणलाई अर्थतन्त्रको यथार्थबारे गम्भीर रुपमा जानकारीका लागि श्वेतपत्र जारी गर्नु अनुचित होइन । यो नीतिगत ‘यु टर्न’ लिने बेला जारी गर्ने हो । तर श्वेतपत्र पनि जारी गर्ने सरकारी क्रियाकलाप उस्तै रहने हो भने त्यसको कुनै अर्थ छैन ।”
राज्य र जनता मितव्ययी हुनुपर्ने र फरक ढंगले सोच्नुपर्ने बेला आएको पनि अर्थविद् डा. अधिकारीले औंल्याए । उनले भने, “अर्थतन्त्र डिलमा पुग्यो । ब्याक गेयर लागेको छैन । पहेलो घेराबाट रातो घेरा छुन लाग्यो । । गिर्दै गएका सूचकहरुलाई सम्हाल्नुपर्ने अवस्था छ । राज्य र जनता मितव्ययी हुनुपर्ने र फरक ढंगले सोच्नुपर्ने बेला आएको छ । तर सरकारी निकाय कहाँ छन् ?”
राजनीतिक दलमा आबद्ध भएको आधारमा गभर्नर हटाउन नमिल्ने पनि उनले जिकिर गरे । डा. अधिकारीले भने, “गभर्नर हटाउने निश्चित कानुनी प्रक्रिया छन् । महाप्रसाद अधिकारी सरकारले निलम्बन गरेपछि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट काम गरिरहनुभएको छ । एमालेको अर्थ तथा योजना विभागमा नरहेको उहाँले र पार्टीले स्पष्ट गरिसकेको अवस्था छ । नैतिकता भन्ने कुरा व्यक्तिगत हो । अहिले महाप्रसादजीको मात्र कुरा आयो । कुन पदमा राजनीतिमा आबद्ध नभएका व्यक्ति छन् ? कसैको बाहिर आयो, कसैको आएन त्यतिमात्र हो । यहाँ त कोटको एउटा खल्तीमा एउटा दलको, अर्को खल्तीमा अर्को दलको कार्ड राख्ने पनि छन् ।”