Logo

चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे अहिले छलफल गर्ने बेला होईन : रमेश लेखक (भिडिओसहित)



काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको केन्द्रीय कमिटी बैठकमा सौहार्दपूर्ण रुपमा छलफल भएको र एकमतले निर्णय गरेको स्पष्ट पारेका छन् । उनले आफूहरु विचारमा निकै छलफल गर्ने गरेको र निर्णयमा पुग्दा सबै एकमत हुने गरेको स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको सरकारले ठिक ढंगले काम गरेको सुनाए ।

उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने स्पष्ट पारे । आगामी निर्वाचनपछि प्रचण्ड र आरजु देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भन्ने चर्चा हल्लामात्रै भएको उनको टिप्पणी छ । उनले भने,‘यो सबै अनुमानका कुरा भए । आगामी निर्वाचनपछि को प्रधानमन्त्री हुन्छ भन्ने कुरामा कुनै निर्णय भएको छैन् । के हुन्छ भन्ने कुरा त्यतिवेला नै हुन्छ । हामी त पार्टी सभापतिको नेतृत्वमा चुनावमा जान्छौं । हामी चुनाव हार्दैनौं । पार्टी सभापति उहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा नै चुनावमा जाने हो नि ।’

सरकार जे कामको लागि गठन भएको हो त्यसमा सरकार सफल भएको निश्कर्ष पार्टीले निकालिसकेको पनि उनले सुनाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चुनावपछिको प्रधानमन्त्री भन्नु अहिले समयभन्दा पहिलेको छलफल हुने पनि प्रतिक्रिया दिए । निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने सम्भावना रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot