इटहरी, ३ साउन । वर्षायाममा सरुवा रोगको खतरा छ । हैजा त फैलिएकै छ । दिउँसो लामखुट्टेले टोकेर डेंगु समेत भइरहेको छ । फोहोर पानीले रोगहरु फैलिने भन्दै सरकारले सचेतना अभियान नै चलाइरहेको छ । तर, उपभोक्ताको लाम लाग्ने सरकारी निकायमै रोग फैलाउने फोहोर जमिरहेको भेटिएको छ ।
इटहरीको यातायात व्यवस्था कार्यालयको लाइसेन्स शाखामा लाम बस्ने ठाउँमा शौचालयको फोहोर जमेको छ । उपभोक्ताहरु नाक थुन्दै लाम बसिरहेको देखिन्छ । उक्त कार्यालयले दैनिक लाखौंको राजश्व संकलन गर्छ । तर, केही हजार खर्च गरेर मर्मत हुनेमा पनि बेवास्ता गरिएको छ ।
दुर्गन्ध र रोगको खतराबीच सेवाग्राही वाध्य भएर कार्यालय पुग्ने गरेका छन् । उनीहरुको रोगको खतराले जीवन नै जोखिममा छ ।