Logo

जनसमाजवादी पार्टी, नेपालको दोस्रो राष्ट्रिय सम्मेलन भोलिदेखि हुँदै, नेपाललाई विश्वकै शक्तिशाली मुलुक बनाउने लक्ष्य (भिडिओसहित)



काठमाडौं, ३ साउन । जनसमाजवादी पार्टी, नेपालले भोलिदेखि ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन गर्दैछ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउन ४ र ५ गते हुने दोस्रो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको हो । भोलि बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोह हुने पार्टीले जनाएको छ । र, भोलि नै बन्दसत्र शिखर पार्टी प्यालेस, कलंकी, काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षकहरु रहने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुवासराज काफ्लेले भोलिदेखि सुरु हुने दोस्रो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाउँदै सम्मेलनमार्फत देशको अहिलेको समस्याको समाधान खोजिने स्पष्ट पारे । उनले विश्वमा नेपाल गरिब, अशिक्षित, अविकसित र पिछडिएको अवस्थामा चिनिएको उल्लेख गर्दै आफ्नो पार्टीको उद्देश्य भनेको नै नेपाललाई शक्तिशाली, समृद्ध, विकसित र वौद्धिक मुलुकको रुपमा चिनाउने रहेको सुनाए ।

उनले भने,‘अब यही हालतमा देशलाई छाडियो भने अब आउने सन्ततीले पनि यो देशको दुर्दशालाई भोग्नुपर्छ । अहिलेको विधिलाई अन्त्य गर्दै देशमा नयाँ पद्धती बसाउने र विश्वमा नेपाललाई शक्तिशाली मुलुकको रुपमा चिनाउने हाम्रो पार्टीको मुख्य लक्ष्य हो ।’ उनले देश बलियो बनाउने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको सुनाए । काफ्लेले पार्टीको दोस्रो सम्मेलन देशमा देखिएका ज्वलन्त समस्याको देशमुखी समाधान खोज्न सफल हुनेमा आफु विश्वस्त रहेको बताए ।
उनले आफ्नो पार्टीको नयाँ निर्वाचित हुने नेतृत्व देशको मात्र नभई विश्वकै नेतृत्व गर्न सफल हुनेमा आफु आशावादी रहेको बताए ।

पार्टीका उपाध्यक्ष हरिबहादुर बोहोराले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले ठूलो उपलब्धि हाँसिल गर्ने विश्वास दिलाए । उनले सत्तासिन राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरेको आरोप लगाए । बोहोराले भोलिदेखि हुने पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा सत्तामा बसेको राजनीतिक दलहरुले गरेको सत्ताको दुरुपयोग, स्थानीय चुनावमा गरेका क्रियाकलापको बारेमा छलफल गरिने पनि जनाए ।

उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि आरोप लगाए । उनले पुराना दलहरुको बिचमा नयाँ दलहरुलाई जनतामाझ जनवादी राज्यसत्ताको अभ्यासको रुपमा लिन खोजेको दाबी गरे । त्यसैको आधारमा आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनमा सबै कुरा सार्वजनिक गर्ने र चुनावबारे रणनीति बनाएर अगाडी बढ्ने संकल्प गरिने पनि उनको भनाई छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot