Logo

प्रचण्डको शर्त: चुनावपछिको प्रधानमन्त्री



काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला सत्ता गठबन्धनमा चुनावपछि आलोपालो प्रधानमन्त्रीमा सहमति बन्न सक्ने खुलासा गरे । उनले विगतमा पनि भारत भ्रमणकै बेलामा आफू र केपी शर्मा ओलीबीच आलोपालो प्रधानमन्त्रीमा सहमति बनेको खुलासा गरेका थिए ।

ओलीले आफूलाई धोका दिएको र त्यसको जवाफ दिएको सन्देश प्रचण्डले दिदै आएका छन् । यसकारण पनि उनी ओलीसँग मिलेर चुनावमा जाने सम्भावना देखिदैछ । तर, काँग्रेससँग चुनावी तालमेल गर्न प्रचण्डले शर्त सारिसकेका छन् ।

चुनावी गठबन्धन बनाउँदा सिट बाँडफाँटको विषय छँदैछ प्रधानमन्त्री को बन्ने भन्ने विषय पनि आउने निश्चित छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीका दाबेदार धेरै छन् । शेरबहादुर देउवा बहालवाला प्रधानमन्त्री हुन् । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पूर्वउपप्रधानमन्त्री हुन् ।

प्रधानमन्त्रीमा मुख्यगरी प्रचण्ड र माधव नेपालको दाबी देखिन्छ । चुनावपछि प्रधानमन्त्री बन्न प्रचण्ड सर्तसहित प्रस्तुत भएका छन् । विश्वस्त स्रोतका अनुसार प्रचण्ड चुनावपछिको प्रधानमन्त्री बन्न चाहन्छन् । उनले सार्वजनिक रुपमा आशय व्यक्त गरिसकेका छन् ।

देउवालाई चुनावी सरकारको प्रधानमन्त्री बन्न सघाएकाले चुनावपछि आफूले पाउनुपर्ने शर्त प्रचण्डको देखिन्छ । उनको यो शर्तलाई देउवा र माधव नेपालले मान्लान् ? चासो बनेको छ । सत्ता गठबन्धनले अबको ५ वर्ष सरकार चलाउने योजनासहित बढ्न खोजेका छन् । ५ वर्षमा को को प्रधानमन्त्री कति समय बन्ने र कहिले बन्ने भन्ने सहमति पनि हुनसक्छ । तर, त्यो सहमति बनाउन सजिलो छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot