काठमाडौं, साउन ४ । सङ्घीय संसद्ले संसद् अधिवेशन प्रारम्भ र अन्त्यको विषयलाई अनुमानयोग्य बनाउने गरी वार्षिक कार्यतालिकामा (क्यालेन्डर) निर्माणसम्बन्धी अध्ययन कार्य अघि बढाएको छ ।
संसदीय व्यवस्था रहेका मुलुकमा सदनको सञ्चालन अवधि, काम कारबाही, समिति सञ्चालनलगायतका व्यवस्था समेटेर क्यालेन्डर निर्माण गर्ने अभ्यास छ तर नेपालमा कार्यतालिका अनुसार संसद् चलाउने अभ्यास छैन । उक्त कमीलाई परिपूर्तिका लागि क्यालेन्डर निर्माणको अध्ययन थालिएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको संयोजकत्वमा अध्ययन भइरहेको छ ।
मोटामोटी रूपमा संसद्का अधिवेशन प्रारम्भ र अन्त्य तथा साप्ताहिक रूपमा सदनले सञ्चालनका दिनलगायत तोक्ने गरी अहिले अध्ययन भइरहेको सचिव फुयालले जानकारी दिए । उनले भने, “अधिवेशनको प्रारम्भ र अन्त्य कहिले हुने तथा हप्तामा कुन कुन दिन बैठक बस्ने कुन कुन विषय हुने भन्ने निश्चित गरेर क्यालेन्डर निर्माण अध्ययन भइरहेको छ । मोटामोटी रूपमा दुईवटा एक्टिभ सेसन हुने र अन्य अवधि सांसदलाई पनि आफ्ना निर्वाचन क्षेत्रलगायतका काम गर्न पाउने गरी तालिकाको गृहकार्य भइरहेको छ ।”
क्यालेन्डरमा हिउँदे अधिवेशनको आह्वान र अन्त्यको समय निश्चित गरिने छ । साथै बर्खे अधिवेशन कहिले सुरु हुने र कहिले सकिने पनि क्यालेन्डरमा समेटिने छ । तयारीअनुसार आइतबारदेखि बिहीबारसम्म सदनको पूर्ण बैठक बस्ने छ भने शुक्रबारदेखि आइतबारसम्म सदन नचलाउने गरी अध्ययन भइरहेको छ । तीन दिनको खाली अवधि हुँदा विधेयकमाथि संशोधन दर्तालगायतका प्रक्रियालाई समय हुनेछ ।
क्यालेन्डर निर्माणकै क्रममा सरकारसँग समेत परामर्श हुनेछ । तर्जुमा भएकै क्यालेन्डरअनुसार सरकारले अधिवेशन आह्वान र अन्त्य गर्नेछ । जसले संसद्को अधिवेशन र काम–कारबाहीलाई अनुमानयोग्य बनाउने छ । मूल सदनको क्यालेन्डर प्रभावकारी बनेमा समिति र विधेयकको पनि क्यालेन्डरमा अध्ययन हुने सचिव फुयालले बताए।
अध्ययन समितिले मस्यौदालाई अन्तिम रूप दिनुअघि राजनीतिक दलका संसदीय दलका पदाधिकारीसँग पनि छलफल गरेर अन्तिम रूप दिनेछ । तयार प्रतिवेदनलाई सचिवालयले महासचिवमार्फत सरकारलाई पठाइने छ । गोरखापत्र दैनिकबाट