सहिद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले वयस्कको मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर नेपालका कुनै पनि अस्पतालमा नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै निर्देशक डा.अधिकारीले भने, “अक्सिजेनेटर वयस्कको मुटुसँग सम्बन्धित शल्यक्रियाका लागि अतिआवश्यक सामान हो । यो अहिले गंगालालमात्र होइन, सरकारी र प्राइभेट कुनै पनि अस्पतालमा छैन । इमर्जेन्सीका लागि एकदुईवटा राखेका छौं । त्यसैले बिरामीहरुलाई घर फर्काउनु परिरहेको छ ।”
विश्व बजारमै अभाव भएकाले नेपालमा पनि त्यसको प्रभाव परेको उनको स्पष्टोक्ति छ । डा. अधिकारीले भने, “गत चैतमै हामीले हजार पिस अर्डर गरेका थियौं । तर कम्पनीले नै कम उत्पादन गरेकाले ग्लोबल सर्टेज छ । त्यसको प्रभाव नेपालमा मात्र होइन, सबैतिर परेको छ । यसबारे स्वास्थ्य मन्त्री वा सचिव पनि बेखबर हुनुहुन्न । यसमा कसै न कसैले नैतिक जिम्मेवारी त लिनु पर्ला । तर यो एक अस्पताल वा एक जना व्यक्तिको कमजोरीले भएको होइन । यो संसारले खेपिरहेको समस्या हो ।”
अत्यावश्यक बिरामीहरुलाई सिंगापुर वा दुबईबाट एयरलिफ्ट गरेर ल्याउन भनेको पनि निर्देशक डा. अधिकारीले बताए । उनले थपे, “कोरोनाकालमा संसारभरि मास्क, ग्लोब्स, पीपीईको अभाव थिएन ? त्यतिबेला कुनै एक देशले किनेको सामान अर्को देशले लैजान्थ्यो । नेपालका अस्पतालसँग भएको भए मागेर पनि काम चलाउन हुन्थ्यो । भारतमा भएको भए पनि ल्याउन सजिलो हुन्थ्यो । अहिले त्यहाँ पनि छैन । गुजरातको अहमदावादमा पनि शल्यक्रिया रोकिएको खबर टाइम्स अफ इन्डियामा आएको छ । चाँडो आपूर्तिका लागि हामीले सकेको प्रयास गरिरहेका छौं । बिरामीका आफन्तलाई सम्भव भए सिंगापुर, दुबईबाट एयरलिफ्ट गरेर ल्याउनुस् भनेका छौं । बिरामीलाई सेवा गरौं भन्ने मनसाय नभएको होइन ।”