Logo

गठबन्धनबीच प्याकेजमै हुनसक्छ चुनाव लड्ने सिट देखि चुनावपछिको पदको सहमति



काठमाडौं, ४ साउन । सत्ता गठबन्धन यतिबेला फल पाकेको र खान मात्र बाँकी रहेको जस्तो व्यवहार गरिरहेका छन् । गठबन्धन बनाएरै चुनावमा जाने मौखिक सहमति बनिसकेको छ । तर, सहमति कार्यान्वयनमा लान कस्ले कति सिट तालमेलका बेला पाउने देखि चुनावपछि कुन कुन मुख्य पद कस्ले पाउने सम्मको भद्र सहमतिको विषय उठिसकेको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कम्तिमा ६० र ४० प्रतिशत सिटको मोटामोटी सहमति बनिसकेको छ । चुनावपछि आलोपालो प्रधानमन्त्रीको भद्र सहमति पनि भएको छ ।

चुनाव देउवाले गर्ने र चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सहमतिको प्रयास भएको छ । त्यसबाहेक काँग्रेसले मागेको ९५ र ९० सिट सम्ममा सहमतिको खाका तयार छ । समाजवादी केन्द्र बनाएर बाँकी दलहरुले ७५ देखि ८० सम्मका सिट लिने गरी सहमति बन्नसक्ने बुझिएको छ ।

चुनावपछि राष्ट्रपति कस्लाई बनाउने भन्नेबारे पनि कुरा चुहिइसकेको छ । काँग्रेसबाट रामचन्द्र पौडेल, नेकपा एसबाट झलनाथ खनाल राष्ट्रपतिका दाबेदार छन् । खनाल राष्ट्रपतिको दाबेदार विगतमा पनि थिए । विद्या भण्डारीलाई ओलीले बढाएपछि बन्न सकेनन् । यसपटक भने उनी बन्न खोजिरहेका छन् । देउवा र प्रचण्डले माधव नेपाललाई अघि सार्ने गरी भद्र सहमति गर्ने सम्भावना नभएको होइन । यसो गर्दा नेकपा एस नै विघटन हुनसक्छ ।

चुनावपछि सभामुख र उपसभामुख कस्ले पाउने भन्नेबारे पनि चर्चा चलिसकेको छ । प्रचण्ड प्रधानमन्त्री बनेमा सभामुखमा काँग्रेसको बलियो दाबी बन्न सक्छ । राष्ट्रिय सभा सदस्यमा माओवादीको दाबी रहन सक्छ । उपसभामुखमा जसपाको दाबी देखिनसक्छ ।

प्याकेजमा यी सबै विषयमा सहमति गर्दा प्रदेशको सिट बाँडफाँडको विषय पनि आइसकेको छ । प्रतिशतको आधारमा प्रदेशमा पनि ६० र ४० गरेर जाने गरी खाका बनेको विश्वस्त स्रोतले बताएको छ ।

काँग्रेसबाहेकको गठबन्धनको दलमध्ये प्रतिनिधि सभातर्फ माओवादीले कम्तिमा ५० सिट मागिसकेको छ । बाँकी २५ देखि ३० सिट मिलेमा नेकपा एसले १५ सिट पाउने निश्चितप्रायः छ । बाँकी १५ सिटसम्म जसपा र जनमोर्चा नेपालले बाँड्नुपर्ने परिस्थिति आउँछ । तर, काँग्रेसभित्र व्यवस्थापनको चुनौती भएकाले सिट बाँडफाँडमा तलमाथि हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्