काठमाडौ, साउन ५ । मंगलबार देखि थप सक्रिय बनेको मनसुनी प्रणालीको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भू–भागमा सरदरको आसपास अवस्थित रहेको छ।
देशका केही स्थानहमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।