Logo

कांग्रेस प्रचण्डको पोल्टामा जाने होइन, प्रचण्डलाई कांग्रेसजस्तै बनाउन चाहेका हौंः सहमहामन्त्री पाण्डे



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, हामीले स्थानीय तहको निर्वाचनभन्दा पहिले गठबन्धनमा जानुहुन्न बहस गरेकै हौं । तर पार्टीले गठबन्धनमा जाने निर्णय गरिसकेपछि कतिपय ठाउँमा उहाँहरुको भोट लिएर हामीले जित्यौं, कतिपय ठाउँमा हाम्रो भोट लिएर उहाँहरुले जितिसक्नुभयो । हामीबीच एकप्रकारको सद्भावपूर्ण सम्बन्ध स्थापित भएको छ । अब पनि त्यसलाई प्रभावकारी बनाएर जाऊँ भन्ने कांग्रेसको निर्णय हो ।
कांग्रेसले नेकपा एमालेलाई हराउनका लागि गठबन्धनको सहारा लिएको छ, अब कांग्रेस एक्लै जान नसक्ने नै हो भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, “गठबन्धनको निर्मम सत्य के हो भने कतिपय ठाउँमा उहाँहरुको मात्र उम्मेदवार हुन्छ, हामीले मत हाल्ने हो । कतिपय ठाउँमा हाम्रो मात्र उम्मेदवार हुन्छ, उहाँहरुले मत हाल्ने हो । हामी चुनावी तालमेलकै माध्यमबाट लगभग बहुमत प्राप्त नजिक पुग्न चाहन्छौं । कसको सिटको संख्या कति हुने भन्ने कुरा तपाईं र मेरो वशको कुरा होइन । शीर्ष नेताहरु र कार्यदलको बिजिनेस हो । देशलाई स्थिर सरकार दिनका लागि त्यो आवश्यक छ ।”
सहमहामन्त्री पाण्डेले कांग्रेस प्रचण्डको पोल्टामा नगएको दाबी गरे । उनले भने, “माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले हामीलाई सरकार बनाउन साथ दिए र स्थानीय तहमा सहकार्य गरे । नेपाली कांग्रेस ठूलो दल पनि बनेको छ । यस अवस्थामा हामीले मिलेर जान खोजेका हौं । यसको अर्थ हामी प्रचण्डको पोल्टामा जाने होइन, प्रचण्डलाई हामीजस्तै बनाउन खोजेका हौं ।”
साथै उनले अमेरिकालाई एसपीपीबारे पत्र पठाउन ढिला गर्न नहुने पनि औंल्याए । पाण्डेले थपे, “मलाई पनि परराष्ट्र मन्त्रालय र नेपाली सेनाको प्रक्रियाका कारण । एसपीपीबारे अमेरिकालाई पत्र पठाउन अलि ढिलो भएको जस्तो लाग्यो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा अब ढिलाइ गर्नुहुन्न ।”



प्रतिक्रिया दिनुहोस्