Logo

वकिलहरुको सम्पत्ति छानबिन गर्नुपर्ने कुरामा हामीले डराउनुपर्ने कारण छ र ? : बारका अध्यक्ष घिमिरे (भिडिओसहित)



काठमाडौं, ५ साउन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जे निर्देशन दियो आफूहरु त्यो मान्ने व्यक्ति नभएको प्रतिक्रिया दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपाल बारले (हामीले) ले उहाँले भनेको कुरा मान्ने होईन । दुई/चार जना न्यायाधीशलाई कारबाही गरेर न्यायपरिषले एउटा कुनै कुरा ईगित गर्न खोजेको छ भने त्यो गलत हो । हामी त ओभरल सुधारको पक्षमा छौं । हामी त न्यायपालिकाको पूरै पूनर्नियुक्ती गर्नुहोस भन्ने पक्षमा छौं । किन डराउने ? यो प्रस्ताव लिएर जानुहोस । हामीले यो कुरा प्रधानमन्त्रीसँग पनि भनेका छौं । कानूनमन्त्रीलाई पनि भनेका छौं । यस्तो धेरै विचलन छ भने नेपाल सुध्रिनुपर्दैन न्यायको मार्गमा ?, न्यायको क्षेत्र हेर्ने हो । विधिको क्षेत्र हेर्ने हो । एउटा न्यायाधीश पनि विधिअन्तर्गत सञ्चालित हुनुपर्यो । सबै विधिबमोजिम हिँडिदिनुपर्यो ।’

उनले आज न्यायपालिका भ्रष्चाचारीको अखडा हो भनेर आरोप लागेको सुनाए । उनले आफूहरुले यस्ता विकृतिको विरोध गरेको जनाए । पत्रकार धमलाले वकिलहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएपछि उनले यसको लागि आफूहरु तयार रहेको सुनाए ।

उनले भने,‘हुन्छ, किन नहुनु ? वकिलहरुको सम्पत्ति छानबिन गर्नुपर्ने कुरामा हामीले डराउनुपर्ने कारण छ र ? हेर्नुहोस, ऋषिजी । हामी १२ हजार कानून व्यवसायीहरु करको दायरा छौं । मेरो कार्यकालको अन्त्यसम्म सबै कानून व्यवसायीहरु करको दायरामा आईसक्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot