Logo

वन व्यवस्थापनमा बेथितिः स्वदेशी काठ कुहिएर जान्छ, अर्बौंको आयात



काठमाडौं, साउन ६। गतवर्ष नेपालमा १ करोड क्युफिट काठ आयात भएको सरकारी तथ्यांक छ । विभिन्न मुलुकबाट उक्त परिमाणमा काठ आयात गर्न करीब ४ अर्ब रुपैयाँ विदेशिएको छ ।

नेपालले संयुक्त राज्य अमेरिकालगायत संसारका २० मुलुकबाट काठ आयात गर्छ । नेपाल वन पैदावार महासंघका अध्यक्ष मञ्जीलबाबु मास्केका अनुसार विदेशबाट आयात गरिएको काठको औसत मूल्य प्रतिक्युफिट ४ हजार रुपैयाँ पर्छ ।

काठको आयात बढिरहँदा नेपालमा काठ उत्पादन हुने वनक्षेत्र क्रमशः बढ्दै गएको पेचिलो वास्तविकता भेटिन्छ । सरकारी तथ्यांकअनुसार सन् २००० मा नेपालमा ५९ लाख १५ हजार ५ सय १८ हेक्टर जमीन वनक्षेत्रले ढाकेको थियो । सन् २०१९ मा यो क्षेत्रफल बढेर ६१ लाख ६६ हजार ७ सय ६६ हेक्टर पुगेको छ ।

सन् २००० को तुलनामा सन् २०१९ मा वनक्षेत्र ४१ दशमलव ६९ प्रतिशतले बढेको हो । अहिले मुलुकको करीब ४५ दशमलव ३१ प्रतिशत भूभाग वनले ढाकेको छ ।

गाउँबाट शहरतर्फको बसाइँसराइ र वैदेशिक रोजगारीमा जाने परिपाटीले गाउँमा रहेका खेतीयोग्य जमीन धमाधम वनमा परिणत हुँदै गएका छन् । दूरदराजसम्मका नागरिकले खाना पकाउने इन्धनका रूपमा दाउरा छाडेर ग्यासको प्रयोग बढाउँदै जाँदा वनको संरक्षण बढ्दै गएको विज्ञहरू बताउँछन् ।

त्यसैगरी सरकारले वैज्ञानिक वन व्यवस्थापनको कार्यविधि खारेज गरेसँगै आन्तरिक काठको खपत घटेको छ । उक्त कार्यविधि खारेज भएपछि स्वदेशी वनको काठ प्रयोग रोकिएको हो । यसले गर्दा पनि वनक्षेत्र बढेको विज्ञहरू बताउँछन् ।

वनक्षेत्र नेपालको महत्त्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्नेमा दुईमत नभएको तर स्वदेशी जंगलको काठ कुहाएर विदेशबाट अर्बौं मूल्यको आयात भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्