Logo

जसले जे माग्यो, तथास्तु भन्दै त्यही दिने हो भने अर्थतन्त्र चल्दैनः पूर्व गभर्नर



काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले अर्थतन्त्रलाई मलमपट्टी लगाउन सक्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै क्षेत्रीले भने, “कतिपय अवस्थामा बजेट लोकरिझ्याइँमा लागेको हुन्छ । त्यस अवस्थामा बजेटले वित्तीय स्रोत र साधनको व्यवस्थापनमा उचित सम्बोधन गर्न सकेको छ कि छैन भनेर मौद्रिक नीतिले सरकारलाई सरसल्लाह दिन्छ । साँचो अर्थमा मौद्रिक नीतिले अर्थतन्त्रलाई मलमपट्टी लगाउन सक्नुपर्छ ।”

मौद्रिक नीति अर्थतन्त्रमा प्रतिकूल पार्न नदिने हिसाबले आउने विश्वास पनि उनले व्यक्त गरे । क्षेत्रीले थपे, “अहिले मुलुकको अर्थतन्त्रमा जल्दाबल्दा समस्या छन् । महँगीले ढाड सकेको छ । भनेको बेला रोजगारी पाइँदैन । २ खर्बको निर्यात छ, १७ खर्बको आयात छ । व्यवसायीहरुले ब्याजदर सिंगल डिजिटमा आउनुपर्छ भनेका छन् । जसले जे माग्यो, तथास्तु भनेर दियो भने अर्थतन्त्र चल्दैन ।”

अघिल्लो मौद्रिक नीतिले अर्थतन्त्रमा मलमपट्टी लगाउँदा आयात बढाउन प्रयोग भएको दृष्टान्त पनि उनले दिए । क्षेत्रीले भने, “यसपालि त्यस्तो हुन दिनुहुँदैन । बजारमा चाहिनेभन्दा बढी रकम आयो भने मूल्य नियन्त्रण गर्न सकिँदैन । अनियन्त्रित बजार भाउको मूल्य अर्थतन्त्रले चुकाउनुपर्ने अवस्था आउन सक्छ ।”



प्रतिक्रिया दिनुहोस्