Logo

मदन भण्डारीले पनि मनपर्ने खाजा मःम र मनपर्ने नेता बीपी हो भन्नुभयोः विश्वप्रकाश शर्मा



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइराला भनेको व्यक्ति नभएर जीवन्त विचार भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “हामीले बीपी कोइरालालाई भौतिक व्यक्ति रुपमा होइन, जीवन्त विचारका रुपमा बुझ्छौं । अहिलेको संसदीय लोकतान्त्रिक परिपाटीकै बीपीको विचारमा आधारित छ । बीपीको विचार कति सामयिक छ भने मदन भण्डारीले पनि मनपर्ने खाजा मःम हो, मनपर्ने नेता बीपी हो भन्नुभयो ।”

नेपाली कांग्रेसले बीपीको विचार नछाडेको पनि शर्माको दाबी छ । उनले भने, “बीपी कोइरालाले समावेशी र लोकतान्त्रिक परिपाटीको परिकल्पना गरेर छाड्नुभएको छ । बीपीले पञ्च बन्नका लागि राजा भन्नुभएको होइन, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर कुरा गर्नुभएको हो । चुरो कुरो लोकतन्त्र हो, हिजो राजासहितको होस् वा आज राजारहितको । हामी कुन दलसँग मिल्यौं भन्दा पनि कस्तो विचार दर्शन उभ्याउन लाग्यौ भन्ने कुरा प्रधान हुन्छ । हामी कसैसँग नमिल्ने भन्ने होइन, सबैलाई सही मार्गमा ल्याउने हो ।”

कांग्रेस डी एन्ड डी (डेमोक्रेसी एन्ड डेभलपमेन्ट) लाई अगाडि बढाउन चाहेको पनि उनले बताए । शर्माले भने, “हामी सामाजिक न्यायसहितको उदार अर्थव्यवस्था, गाउँमै शिक्षाको पहुँच, भौतिक प्रगति मात्र नभएर मानवीय प्रगतिको कुरा गरिरहेका छौं । हामीले केही पनि गर्दै गरेका छैनौं भन्ने होइन । अहिले गरेका कुरा पर्याप्त होइनन् भन्ने चाहिँ स्वीकार गर्छौं ।”

पार्टीले बीपीको स्मृति दिवसभन्दा पनि जन्म जयन्ती मनाउँदै आएको पनि उनले बताए । शर्माले थपे, “साउन ६ गते बीपीको निधन भएको पुण्यतिथि हो । हामीले बिदाइको दिनलाई भन्दा जन्मजयन्ती मनाउने गरेका छौं ।”



प्रतिक्रिया दिनुहोस्