काठमाडौं, ६ साउन । पूर्वसचिव दुर्गाप्रकाश पाण्डेको निधनमा राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले दुःख व्यक्त गरेका छन् । रायमाझीले एक विज्ञप्ती जारी गर्दै पाण्डेको असामयिक निधनले आफु स्तब्ध भएको जनाएका छन् ।
‘कुशल प्रशासक, इमान्दार व्यक्तित्वको रुपमा चिर–परिचित पाण्डेको निधनबाट प्रशासनिक क्षेत्रले अनुभवी दक्ष प्रशासक गुमाएको छ । उहाँका छोराहरु नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति प्रकाश पाण्डे र शिखर इन्स्योरेन्स कम्पनीका सिइओ दिप प्रकाश पाण्डेप्रति गहिरो समबेदना प्रकट गर्दछु । प्रकाश रायमाझी’-रायमाझीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
पाण्डेले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका पाण्डेले सन् १९५६ मा पर्यटनसम्बन्धी तालिम लिएका थिए भने अमेरिकाको जर्जटाउन विश्वविद्यालयमा सन् १९६२ मा पनि अध्ययन गरेका थिए।
उनले मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुख सन १९६६ मा, महावाणिज्य दुतावास कोलकत्ताको सन १९८२ मा, वीरगन्ज चिनी कारखानाको अतिरिक्त सचिव, आपूर्ति मन्त्रालयको सचिव सन १९८८ मा हुँदै उनले वाणिज्य मन्त्रालयको सेवाबाट सन १९९० मा अवकाश पाएका थिए ।
नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरूको सरकारी वार्ता तथा बैठकहरूमा नेपालको तर्फबाट करिब ४२ पटक सहभागी भएका थिए । उनले सन् १९७१, सन् १९७८ र सन् १९९१ को व्यापार तथा पारवहन सन्धी गर्ने कार्यमा विशेष सहभागीता जनाएका थिए ।
पाण्डेले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पदक तथा दीर्घ सेवा पदक जस्ता मानपदवीहरू पाएका थिए ।