एजेन्सी, ६ साउन । दिनेश गुणवर्द्धने श्रीलंकाको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रनिल विक्रमासिङ्घेले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
७३ वर्षीय गुणवर्द्धनेलाई पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेको कार्यकालमा अप्रिलमा गृहमन्त्री बनाइएको थियो । उनले परराष्ट्रमन्त्री र शिक्षामन्त्रीसमेत भइसकेका छन् ।
विक्रमासिंघे राष्ट्रपति बनेपछि प्रधानमन्त्री पद रिक्त भएको थियो । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिङ्घेले बिहीबार देशको आठौं राष्ट्रपतिको सपथ लिएका छन् । गुणवर्द्धने रनिल विक्रमासिङ्घेका सहपाठी थिए, अहिले श्रीलंकालाई आर्थिक संकटबाट निकाल्ने भार दुवैको काँधमा छ।
राष्ट्रपति विक्रमासिङ्घेले श्रीलंकाका नवनिर्वाचित प्रधानमन्त्री गुणवर्द्धनेलाई सपथ गराए । विक्रमासिङ्घे राष्ट्रपति बनेपछि पनि श्रीलंकामा शान्ति कायम हुन सकेको छैन । उनलाई गोतबायाको प्यादा भन्दै आन्दोलनकारीले आन्दोलनलाई तिब्र बनाएका छन् । बिहीबार ढिलो कोलम्बोमा श्रीलंकाको राष्ट्रपति सचिवालयको बाहिर गाले फेसमा सेना र सयौं प्रदर्शनकारीहरूबीच झडप भएको थियो।
प्रदर्शनकारीलाई नियन्त्रण गर्न राष्ट्रपति सचिवालय परिसर बाहिर हतियारधारी सेना तैनाथ गरिएको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन सेनाले आन्दोलनकारीको टेन्ट च्यात्न थालेपछि उनीहरु आक्रोशित बनेका थिए । गाले फेसमा जम्मा भएका प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गर्न थाले ।