काठमाडौं, ६ साउन । प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार सञ्जालले चुनाव अघि नै प्रदेश र समानुपाकि प्रणाली खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।
सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गरे । उनले तत्काल खारेज नगरे देश ठूलो संकटमा जाने बताए । सुवेदीले सञ्जालले देशव्यापी रुपमा प्रदेश र समानुपातिक प्रणाली खारेजीका लागि अभियान नै चलाउने बताए । प्रदेश निकै खर्चालु भइसकेको र देशले थेग्नै नसक्ने उनको भनाई थियो ।
सञ्जालका सदस्य समेत रहेका ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गरेका डा. दीपेश केसीले दलीय सिन्डिकेट बनाएर जनताले नचाहेको प्रणालीहरु लाद्ने गतिविधिविरुद्ध विद्रोह अनिवार्य भएको बताए । उनले जाति जातिलाई लडाउने गरी धर्ममाथि प्रहार भएको बताए । भाषा, संस्कृतिमाथि एकपछि अर्को आक्रमण गरी देशलाई द्वन्द्वमा लान खोजिएकोमा सचेत हुनुपर्ने बताए ।
सञ्जालका सदस्य सुमन पौडेल केसीले स्वतन्त्रहरुको आवाज देशभर गुञ्जिइरहेको बताए । उनले जनताको अपमान गर्दै दलहरुले जर्बजस्ती समानुपातिक निर्वाचन प्रणाली र प्रदेशको व्यवस्था लागू गरेर देशलाई बर्बादीमा लगेको बताए ।
सञ्जालका सदस्य र समर्थकहरु ठूलो संख्यामा माइतीघर मण्डलामा राष्ट्रिय झण्डासहित भेला भएर प्रदर्शनमा सहभागी भएका थिए ।
तस्बिरहरुः दिनेश चौधरी /रिपोर्टर्स नेपाल