Logo

मौद्रिक नीति कसिलो आएन, ८ प्रतिशत आर्थिक वृद्धि सम्भव छैनः पूर्व गभर्नर



काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले अर्थतन्त्रलाई सही बाटोमा डोहोर्‍याउने खालको कसिलो मौद्रिक नीति नआएको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. नेपालले भने, “अर्थतन्त्रलाई सही बाटोमा ल्याउन केही समय सबैले दुःख गर्नुपर्छ । तर हिजो मौद्रिक नीति आउँदा कोभिडको समयमा लिएका असाधारण नीति अझै फिर्ता गरेको छैन । २०८१ सम्म फिर्ता गर्ने भनिएको छ । तुरुन्त फिर्ता लिनुपर्ने कुरालाई एक वर्ष लम्बाइँदा बजार बिग्रन्छ । हिजो सहज कर्जाले अत्यधिक आयात भयो । डलरमा चाप पर्‍यो । १२, १३ महिनाको विदेशी मुद्रा सञ्चिती साढे ६ महिनालाई मात्र पुग्ने भयो । अझै पनि ती नीति फिर्ता लिन हिचकिचाहट किन ?”
मौद्रिक नीतिले आफ्नो सन्तुलित धार लिन नसकेको पनि डा. नेपालले बताए । उनले थपे, “मैले पहिले पनि कसिलो मौद्रिक नीति ल्याउनुपर्छ भनेको थिएँ । त्यो भनेको बजारमा थोरै पैसा जाने भनेको हो । धेरै पैसा पठाउने खुकुलो मौद्रिक नीतिले समस्या आएको कुरा बुझ्नुपर्छ । केन्द्रीय बैंकले अलिअलि कसिलो गर्न त खोज्यो । तर जुन रुपमा आउनुपर्ने हो, आफ्नो स्पष्ट धार देखाउन सकेन ।”
विदेशी मुद्रा सञ्चितीलाई कुन रुपमा अगाडि बढाउने भन्ने पनि अलमल रहेको पूर्व गभर्नर डा. नेपालको भनाइ छ । उनले भने, “हामीले सात महिनाको मात्र सञ्चिती खोजेको होइन, कम्तीमा आठ महिनालाई खोज्नुपथ्र्यो । सञ्चिती भनेको लगानीकर्ताका निम्ति पनि विश्वासको वातावरण बन्नु हो । उसलाई अप्ठ्यारो बेला पैसा लैजान पाउँछु भन्ने आत्मविश्वास चाहिन्छ । विदेशी सञ्चितीलाई ध्यान नदिईकन मौद्रिक नीति आएको छ ।”
१२. ५ प्रतिशतको कर्जा विस्तारले ८ प्रतिशत आर्थिकवृद्धि असम्भव भएको पनि उनले बताए । डा. नेपालले भने, “बजेटले लिएको उद्देश्य पूरा गर्ने किसिमको मौद्रिक नीति आएन । १२.५ को कर्जाविस्तारले सरकारले लिएको ८ प्रतिशत आर्थिकवृद्धि सम्भव छैन । कम्तीमा पनि २४ प्रतिशत कर्जा विस्तार हुनैपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot