Logo

वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ७ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताएका छन् ।

पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने बताए ।

“जनता समाजवादी पार्टीबाट डा बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ”, अध्यक्ष प्रचण्डले भने, “ जसपाका दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ, उपेन्द्र यादवजीले नेतृत्व गरेको पार्टी गठनबन्धनमै छँदैछ, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उहाँहरुले भन्दै आउनुभएको छ । त्यस कारण बाबुरामजीको समूह पनि हाम्रै गठबन्धनमा रहने मेरो विश्वास छ । ”

गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमिका दलहरुबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भने, “ हाम्रो छलफल चलिरहेको छ तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ । सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ, ” उनको भनाइ थियो ।

आफूहरूकै जोडबलमा नै नागरिकता विधेयक पारित भएको र नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले विधेयक पारित भएसँगै नागरिकता विवाद पनि समाधान भएको बताए ।

https://www.facebook.com/100044412160019/videos/pcb.582521933238207/373443048234678



प्रतिक्रिया दिनुहोस्