काठमाडौं, ८ साउन । कास्कीको सराङ्कोट १८ पदेली पोखरा स्थित बागेश्वरी दुर्गादेवी मन्दिर परिसरको उत्तरी भेगमा अवस्थित करिब सय वर्ष पुरानो इतिहास बोकेको सप्तसमाधीको निर्माणमा अध्यक्ष एकबहादुर ढकालले आफ्नो निजि खर्चमा शिवलिङ्गसहित समाधीको निर्माण गरेका छन् ।
ढकालले भक्तपुरे कलात्मक इट्टाको प्रयोग गरि विशेष कारीगढ बाबुकाजी गोसाइँलाई ठेक्कामा दिई समाधीको प्रथम चरणको सुरुवात गरि पुरातात्त्विक महत्त्व बोकेको मौलिक सम्पदा निर्माण गरेका हुन् । उनले मौलिक सम्पदा जोगाउन सबैसँग सहयोगको अपिल समेत गरेका छन् ।
सप्तसमाधीको संरक्षणको लागी स्थानीयवासी र सप्तऋषि निर्माण संरक्षण समितिले श्रावण ६ गतेका दिन उक्त निर्माणको थालनी गरेको छ । उनले पित्तृहरुको सम्झनामा उक्त समाधिस्थल बनाएका हुन् । उनले आर्थिक सहयोग गर्नेहरुको शिलालेखमा नाम समेत उल्लेख रहने कुराको जानकारी गराए ।
अध्यक्ष एकबहादुर ढकालले पुरातात्त्विक महत्त्व बोकेका यस्ता धार्मिक तथा पर्यटकीय स्थललाई विकास र सम्बर्द्धन गर्न सकेमा हराउदै गएको मौलिकता जोगाउन सकिने तथा यस क्षेत्रमा ऋषि पञ्चमी र बालाचतुर्दशी मेलामा पर्यटक, तिर्थालु भक्तजनको लागी अति उपयुक्त हुने कुरामा जोड दिए । स्थानीय बासीका अनुसार उक्त ठाउँ पहिले योगिको कुटि थियो ।
अन्दाजी सय वर्ष अगाडि त्यस ठाउँमा योगिहरुको बसोबास रहेको र उनीहरुले आफ्नो मृत्युको पुर्व जानकारी गराइसकेका थिए भन्ने विश्वास छ । तत्पश्चात उनीहरुको चट्याङले मृत्यु भइसकेपछि त्यस क्षेत्रमा समाधीस्थल निर्माण गरिएको थियो । कालान्तरमा संरक्षण नभएकोले गर्दा धार्मिक आस्था बोकेको त्यस क्षेत्रको अस्तित्व ओझेलमा पर्दै आएको थियो ।
यस्ता पुरातात्त्विक तथा मौलिक पहिचान बोकेकाका सम्पदाको संरक्षणमा सरकारको ध्यानाकर्षण हुनु अत्यन्त जरुरि रहेको कुरा स्थानीय बासिले जनाए ।