Logo

१९ वर्षीय ठिटोको अपत्यारिलो दौड गाथा



जुम्ला, साउन ९। गत ३ असारमा पूर्वी रुकुममा सम्पन्न चौथो गुरिल्ला अल्ट्रा म्याराथनमा १९ वर्षे ठिटोको कुदाइले चकित बनायो । ६२ किलोमिटर दूरीको दौडमा बाजी मार्ने १९ वर्षीय कलिला ठिटो थिए, जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँका दलबहादुर कुँवर ।

१ सय जना प्रतिस्पर्धीको भिडलाई पछि पार्दै ६२ किलोमिटरको दूरी ५ घण्टा ५३ मिनेट २ सेकेन्डमा पूरा गरी प्रथम भए । दलबहादुर जुम्लास्थित कर्णाली स्पोर्ट क्लबमा आबद्ध भएको एक महिना मात्रै पुगेको थियो ।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले प्रशिक्षण गरिरहेको क्लबबाट प्रतिनिधित्व गरेर दौडमा होमिएका दलबहादुर दौडकै लागि जन्मिएका हुन् भन्दा फरक नपर्ला ।

सन् १९९७ देखि २००१ सम्म लगातार तीनपटक एभरेस्ट म्याराथन जितेर विश्व कीर्तिमानी राखेका धावक हरिबहादुर रोकायाको प्रशिक्षणमा दलबहादुरले निरन्तर अभ्यास गरिरहेका छन् । दौडमा बाल्यावस्थादेखि नै रुचि भए तापनि परिवार, विद्यालय र समाजले उनको प्रतिभा बुझ्न सकेको थिएन ।

तर, उनी दौडेरै कुनैबेला परिचित हुने दाउमा थिए । गाउँमा बस्दा पनि उनी एकाबिहानै धार्मिक तीर्थस्थल भरिचुला हिमालमा दौडेरै पुग्थे । रेडियोमा थोरै अल्ट्रा म्याराथनबारे सुनेका दलबहादुरलाई यति मात्रै थाहा थियो कि दौडका लागि तालिम आवश्यक छ ।

त्यसैले भुरिचुला उनको टे«निङ सेन्टर बन्यो । हिउँद वर्षा उनी दौडेर भुरिचुला चुचुरोमा पुग्थे, जुन समुन्द्री सतहबाट ४ हजार मिटरको उचाइमा छ । घरबाट निस्केपछि दौडको गन्तव्य भुरिचुला भए पनि लक्ष्य भुरिचुलासम्म मात्रै थिएन । अवसर आए राष्ट्रियस्तरमा तहल्का पिट्ने उनको चाहना थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot