Logo

माओवादी केन्द्रका प्राथमिकताः पहिलो– आफ्नै खुट्टामा उभिएर लड्ने, दोस्रो– वाम मोर्चा बनाउने, तेस्रो– कांग्रेससँग तालमेल गर्ने



काठमाडौं, ९ साउन । नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले आवश्यकता वाम गठबन्धनकै भए पनि त्यो एमालेसहितको हुन्छ कि हुँदैन भन्नेमा दुबिधा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “आवश्यकताका दृष्टिकोणले म वाम गठबन्धनकै पक्षमा छु । तर त्यो एमालेसहितको हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । एमालेको नेतृत्व माथिल्लो अभिजात्य वर्गको बारेमा सोच्ने खालको छ, त्यसैले सजिलै एकता हुने आधार म देख्दिनँ । हिजो जे कारणले नेकपा बन्यो र जुन ढंगले विभाजन भयो, त्यसबारे पनि मतैक्यता छैन । एमाले अध्यक्ष कमरेड केपी ओलीले पार्टी एकता जोगाउन सकिएन त भनेको सुनियो । तर कसका कारण नेकपा बचाउन नसकिएको हो भन्ने स्वीकारोक्ति अझै आएको छैन ।”
नेकपा (माओवादी केन्द्र) को प्राथमिकता आफ्नै खुट्टामा उभिने हुनुपर्ने पनि उनले औंल्याए । पोखरेलले थपे, “हामी पहिलो पार्टी हुँदै तेस्रो पार्टी बनेका छौं । त्यसैले संगठनात्मक अवस्था सुधार गर्नुपर्ने अवस्था छ । हाम्रो प्राथमिकता आफ्नै खुट्टामा उभिएर लड्ने हुनुपर्छ । दोस्रो विकल्प वामपन्थी एकता हो । सकिन्छ भने माधव नेपाल र हाम्रो पार्टीबीच एकता गर्ने हो । अर्को भनेको उपेन्द्रजी, बाबुरामजी, वामदेवजीसहितको ध्रुवीकरण र मोर्चा बनाउने हो । तेस्रो धार बन्नु सकारात्मक पनि हो । त्यो भएन भने नेपाली कांग्रेससहितको तालमेल गर्ने हो ।”
वैवाहिक अंगीकृतमा राष्ट्रिय सहमति नभएकोमा पनि उनले खेद व्यक्त गरे । पोखरेलले थपे, “नागरिकता विधेयकका केही कुरा सकारात्मक छन् । जन्मका आधारमा नागरिकता दिने सन्दर्भमा २०३६ सालको जनमतसंग्रहदेखि नै गल्ती गरिएको हो । हामीले अन्तरिम संविधानमा पनि गल्ती गर्यौं । नेकपा एमाले सरकारमा हुँदा एउटा, बाहिर हुँदा अर्को काम गर्ने दोधार छ ।”
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका बारेमा विशेष समितिले चाँडो काम सकेर संसदमा ल्याउनुपर्ने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot