Logo

विराटनगरसम्म कार्गो रेल सञ्चालन गर्न भारतीय पक्ष तयार



विराटनगर, साउन ९ । भारतको बथनाहा–कटहरी रेलवे विस्तार योजनाअन्तर्गत विराटनगरसम्म कार्गो रेल सञ्चालन गर्न भारतीय पक्ष तयार देखिएको छ । नेपालले प्रशासनिक प्रक्रिया पूरा गरे सम्झौताअनुसार सम्पन्न सात किलोमिटर दूरीमा कार्गो रेल ल्याउन सकिने भारतीय पक्षले जनाएको हो ।

उद्योग सङ्गठन मोरङमा आइतबार भएको छलफलमा भारतीय रेलवे कटिहार डिभिजनका डिभिजनल प्रबन्धक एसके चौधरीले नेपाल रेलवे विभागले आयोजना सम्पन्न क्षेत्रमा सञ्चालन अनुमति दिए भारतीय पक्ष त्यसका लागि तयार हुने बताए । त्यसका लागि नेपाली पक्षले कानुनी प्रक्रिया पूरा गरेर भारतसँग निर्माण सम्पन्न दूरीमा कार्गो रेल सञ्चालन अनुमति दिनुपर्ने डिभिजनल प्रबन्धक चौधरीको आग्रह थियो ।

छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मीरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीसाधन री रुट गरी ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न कार्गो रेल सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।

मालवाहक रेल सञ्चालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीले उत्तिकै चासो राख्नुपर्ने माग गरेका थिए ।

डिभिजनल प्रबन्धक चौधरीले परियोजना सम्झौताअनुसार १८।६ किलोमिटर लम्बाइ भएको बथनाहा–विराटनगर रेलवेको काम सकिएको क्षेत्रमा सञ्चालन गर्न सकिने निर्णय जरुरी हुने बताएका छन् ।

जोगबनीमा रेलवे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेलवे मन्त्रालयसमक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको जानकारी दिँदै सो सेन्टरको निर्माणपश्चात् अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थप्ने तयारी भइरहेको उनले बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्