काठमाडौंं, ९ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रणाली महँगो भएको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन् । उनले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन गर्नेगरी बहस अघि बढाइनुपर्ने पनि बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने,‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन। अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ।’
दाहालले भर्खरे सम्पन्न भएको स्थानीय तहको निर्वाचनको प्रसँग निकाल्दै गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको सुनाए । उनले भने,‘एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो। अब क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो। आउने दलाल पुँजीपतिहरू आउने भए। नोकरसाह पुँजीपति आउने भए। भ्रष्टहरू आउने भए। त्यो खतरा दिनप्रतिदित बढ्दो छ ।’
त्यस्तै, दाहालले प्रदेश र संघको निर्वाचनमा विचार मिल्नेहरूसँग एकता सम्भव बनाउने गृहकार्य भइरहेको पनि स्पष्ट पारेका छन् । तर, वर्तमान गठबन्धनलाई समेत कसिलो बनाउँदै लग्ने दाहालको भनाई छ । उनले भने,‘गठबन्धन न्यायोचित रुपले हुनुपर्छ सबैलाई न्याय हुनुपर्छ भन्नेनै छ। तर विचार मिल्नेहरूसँग सहकार्य राम्रो हुनुपर्छ भन्ने पनि छ, विचार मिल्नेहरूसँग सहकार्य गरेर गठबन्धनलाई बलियो बनाउनेगरी बल गरिएको छ।’
https://www.facebook.com/prachanda.nepal/videos/585599619832223