काठमाडौं, ९ साउन । मंसिरमा हुने भनिएको निर्वाचनमा पैसाको खोलो बग्ला ? स्थानीय निकायको निर्वाचनमा कतिपय स्थानहरुमा करोडौंको चलखेल भएको नेताहरुले नै बताउन थालिसकेबाट प्रतिनिधि सभा निर्वाचनमा झन् ठूलो चलखेल हुने चर्चा छ ।
आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा पैसाको ठूलो चलखेल हुनसक्ने बताए । उनले पूँजीपतिहरु चुनाव जित्ने अवस्था बनेको भन्दै कडा अभिव्यक्ति दिए । स्थानीय चुनावमा करोडौंको चलखेलहरु भएको प्रचण्डको टिप्पणी थियो ।
यसअघि नेपाली काँग्रेसका तत्कालनि महामन्त्री डा. सशांक कोइरालाले पनि आफूले २०७४ को चुनावमा ५ करोड खर्च गरेको सुनाए । यो अभिव्यक्ति विवादमा मात्र परेर निर्वाचन आयोगले छानविन समेत गरेको थियो ।
चुनावमा पैसाको ठूलो चलखेल हुने संकेत नेताहरुले नै गरिसकेका छन् । यसकारण पैसा नभएको व्यक्ति चुनाव लड्न कठिन हुने सम्मको टिप्पणीहरु हुन थालेका छन् ।
देशमा राजनीतिक दलका नेताहरुप्रति नकारात्मक सोच विकास हुनु, नेता भनेकै पैसा कमाउन जाने व्यक्ति भएको भन्ने सन्देश जानुले पनि यस्तो सोच विकास भएको हो । कार्यकर्ता आत्मनिर्भर बन्नेभन्दा नेताको निर्भर हुने परिपाठी पनि गम्भीर विषय हो ।