Logo

उपेन्द्र यादव एमालेसँग चुनावी गठबन्धन बनाउनेगरि गृहकार्यमा, सत्ता गठबन्धनसँग टाढिए



काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनमा नेकपा (एमाले) सँग चुनावी तालमेल गर्नेगरि गृहकार्य थालेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यादवको भेटवार्ता बाक्लिएको समाचार छन् । जसपा अहिले फुटिसकेको छ । डा. बाबुराम भट्टराईले छिट्टै छुट्टै नयाँ दल गठन गर्ने भएका छन् । यादव भने आगामी संसद्को निर्वाचनमा रणनीति बुन्न व्यस्त छन् ।

स्रोतका अनुसार यादवले देशव्यापी रुपमा पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेर जाँदा पार्टीलाई नोक्सान हुने भन्दै बरु एमालेसँग मात्रै सहकार्य गर्नेगरि छलफल अघि बढाएका छन् । ०७४ को चुनावपछि ओलीको नेतृत्वमा बनेको सरकारमा यादव आँफै सहभागी थिए । त्यसअघि उनीहरुबीच खासै सुमधुर सम्बन्ध थिएन ।

हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा यादवले आफू जसरी विदेशी शक्तिको दबाबका कारण सरकारबाट बाहिरिनुपरेको थियो, त्यसैगरि ओली पनि सरकारबाट बाहिरिनुपरेको थियो भन्ने अभिव्यक्ति दिएका थिए । यादवको उक्त अभिव्यक्तिलाई एमालेका नेता तथा कार्यकर्ताले जोडतोडले सामाजिक सञ्जालमार्फत सेयर गरेका थिए । अहिले सत्ता गठबन्धन आगामी निर्वाचनलक्षित रणनीति बनाउन व्यस्त छ ।

तर, यादवको ध्यान भने सत्ता गठबन्धन भन्दापनि एमालेसँग सहकार्यमा पुगेको छ । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मधेशमा जसपाको शक्ति प्रभावशाली देखिएको छ । अधिकांश स्थानमा कांग्रेस, एमाले र जसपाको नै वर्चश्व देखिएको थियो । जिल्ला समन्वय समिति गठनको लागि त एमाले र जसपाबीच धेरै ठाउँमा सहकार्य भएको छ ।

आगामी निर्वाचनमा पाँच दलबीच गठबन्धन गरेर जानुभन्दापनि एमालेसँग तालमेल गर्दा सिटको बाँडफाँडमा पनि सहज हुने यादवको बुझाई छ । पछिल्लो समय यादव एमाले अध्यक्ष ओलीसँग सिट बाँडफाँडबारे छलफलमा जुटेको बताईएको छ । file photo

Related Video



प्रतिक्रिया दिनुहोस्