Logo

देउवालाई बनाउन मेरो योगदान छ, अबको निर्वाचनमा जनताले उहाँलाई अस्विकार गर्छन् : मल्ल (भिडिओसहित)



काठमाडौं, ११ साउन । नेपाली कांग्रेस (विपी) का नेता कर्णबहादुर मल्लले शेरबहादुर देउवा प्रजातान्त्रिक आन्दोलनमा होमिएकै कारण आफूहरु प्रभावित भएर नेपाली कांग्रेसमा लागेको स्मरण गराएका छन् । मल्लले आफूले कक्षा ८ मा पढ्दादेखि नै आफ्नो राजनीति सुरु गरेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले देउवाको स्वकिय सचिव भएर आफ्नो परिचयमा थप ईँटा भरेको सुनाए । उनले आफू कांग्रेस परित्याग नगरेको पनि जिकिर गरे ।

उनले आफूलाई बनाउन जति सभापति शेरबहादुर देउवाको योगदान छ त्यति नै देउवालाई बनाउनको लागि आफ्नो पनि योगदान रहेको दाबी गरे । मल्लले अबको निर्वाचनमा डडेलधुराका जनताले देउवालाई अस्विकार गर्ने दाबी गरे ।उनले भने,‘अहिले यदि उहाँले उम्मेद्धवारी दिनुभयो, डडेलधुराका जनताले उहाँलाई अस्विकार गर्नुहुन्छ भन्ने मेरो विश्वास छ । उहाँले ०४८ सालदेखि, उहाँ डडेलधुरा जाँदै गर्दा जनता दुई दिन लगाएर हिँडेर उनको कुरा सुन्न र हेर्न आउँथे, अहिले उहाँ पाँचौं पटक प्रधानमन्त्री हुनुभयो, अहिले कांग्रेसले सिद्धान्त छोडिसकेको छ । राष्ट्रियता छोडिसक्यो, प्रजातन्त्र छोडिसक्यो, समाजवाद पनि छोडिसक्यो । आज उहाँले सुरक्षाघेरामा बसेर मान्छे छानी छानी भेट्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्