Logo

कांग्रेसको विकल्पमा समाजवादी केन्द्र बनाउन लागेका होइनौंः देवेन्द्र पौडेल



काठमाडौं, १२ साउन । शिक्षामन्त्री देवेन्द्र पौडेलले एसईईको नतिजा निराशाजनक नभएको दाबी गरेका छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै मन्त्री पौडेलले भने, “एसईईमा सिकाइ उपलब्धि कमजोर भएको म मान्दिनँ । विद्यार्थीहरु दुई वर्षसम्म कक्षामा जाने स्थिति भएन । यसपटक पनि आन्तरिक रुपमा मापन गर्नुपर्ने दबाब थियो । तर हामीले विद्यार्थीलाई पढ्न प्रेरित गर्नका परीक्षा बोर्डलाई सक्रिय बनायौं । विगत दुई वर्षभन्दा बिलकुल फरक हो । यसपटकको नतिजा निराशाजनक छैन । ठीकै छ, म सन्तुष्ट छु । धन्न गरे विद्यार्थीले । अब उनीहरुलाई ११ र १२ कक्षामा सहजीकरण गर्नुपर्छ ।”
आफूले शैक्षिक क्यालेन्डर अनुसार एसईईको नतिजा आएको पनि उनले दाबी गरे । मन्त्री पौडेलले भने, “श्रावणको पहिलो हप्ता रिजल्ट आउँछ भनेको थिएँ । मैले बोलेको भन्दा चार दिन ढिला भयो । अब क्यालेन्डर अनुसार काम हुन्छ । हामी विगतको समीक्षा गरेर अघि बढ्छौं । यसको अर्थ शिक्षा प्रणाली बेठीक छ भन्ने होइन ।”
अर्को प्रसंगमा नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका पौडेलले कांग्रेसको विकल्पमा समाजवादी केन्द्र बनाउन नलागेको पनि स्पष्ट पारे । उनले भने, “यो गठबन्धनभित्रको गठबन्धन बिलकुलै होइन । पूर्व माओवादी र पूर्व नेकपाका घटकहरु एकै ठाउँमा बस्न सकिन्छ कि भनेर प्रयास गरेका हौं । सकभर एउटै मोर्चा वा चिह्नमा चुनाव लड्न सकिन्छ कि भन्ने आशा छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot