Logo

“नष्ट गरिएको सीसीटीभी फुटेज भेटिएन भन्नुको के अर्थ छ र ?”



काठमाडौं, १३ साउन । राष्ट्रिय सभामा विपक्षी दलका नेता खिमलाल भट्टराईले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले ‘क्लिन चिट्’ दिए पनि देश र जनताले स्वीकार नगर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा एमालेका नेता भट्टराईले भने, “जनार्दन शर्मा प्रकरणमा हाम्रो ‘रिजर्भेसन’ छ । सत्तापक्षले स्वार्थवश बचाउन खोजेको छ । यसलाई देश र जनताले स्वीकार्ने अवस्था छैन । हामीले पनि किन मान्नु ? हटाइएको फुटेज भेटेनौं भनेर ‘क्लिन चिट्’ दिन मिल्दैन । नष्ट गरिएको कुरा भेटिएन भन्नुको के अर्थ छ र ? बहुमतको निर्णय सधैं सही हुन्छ भन्ने छैन ।”

आगामी निर्वाचनमा नेकपा एमाले एक्लै गए पनि सरकार बनाउने हैसियत राख्ने दाबी पनि उनले गरे । भट्टराईले भने, “अहिलेको अवस्थामा हामी एकल रुपमा जाने तयारीमा छौं । अबको एकडेढ महिनामा स्थिति अर्कै हुन्छ । जनताले निकास हेर्ने वाला छन् । जनताले एमालेलाई नै चुन्छन् । मिल्न सकिने शक्तिसँग मिल्छौं पनि ।” भावी प्रधानमन्त्रीमा केपी ओलीको विकल्प नभएको उनको दाबी छ ।

दुवै सदनबाट पारित नागरिकता विधेयकका केही विषयमा समर्थन र केही विषयमा विरोध रहेको पनि भट्टराईले बताए । उनले थपे, “जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने पक्षमै हौं । गैरआवासीय नागरिकताका पक्षमा पनि छौं । अंगीकृत नागरिकताको हकमा मात्र हाम्रो आलोचना र विरोध हो । छोरी र बुहारीको समान हैसियत बनाऊँ, वैवाहिक अंगीकृतमा अवधि राखेर जानुपर्छ भन्ने हाम्रो प्रस्तावमा सरकार गैरजिम्मेवार भएर प्रस्तुत भयो । अहिले पनि सम्पूर्ण रुपमा नागरिकता समस्या समाधान भएको छैन । यसका निम्ति फेरि पनि बहस, दबाब र जागरण आवश्यक छ ।”



प्रतिक्रिया दिनुहोस्