Logo

डा. प्रकाशचन्द्र लोहनीको झटारोः “सरकारले भाङ खाएर एसपीपी चाहिँदैन भन्ने निर्णय गरेको हो ?”



काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले परराष्ट्र नीति सत्ताका लागि नभएर मुलुकको हितमा प्रयोग गर्नुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. लोहनीले भने, “नेपालको परराष्ट्र नीति परीक्षाको घडीमा छ । विश्व अमेरिका र चीनको ध्रुवमा जान लागेको छ । दुई ध्रुवबीचको सन्तुलन राखेर जानुपर्ने नेपालको भूराजनीतिक परिस्थिति छ । अब परराष्ट्र नीति मुलुकको हितमा प्रयोग हुन्छ कि फगत सत्ताका लागि ? नेपालको हितमा प्रयोग गर्न सक्ने क्षमता अहिलेको सरकारसँग देखिएको छैन ।”
एसपीपीमा अमेरिकालाई पत्र लेख्न समय लगाउनु आश्चर्यको विषय भएको पनि डा. लोहनीको टिप्पणी छ । उनले थपे, “नेपालकोे १४ सय किलोमिटर सिमाना चीनसँग जोडिएको छ । त्यसैले कुनै न कुनै चासो हुन्छ अमेरिकाको । चीनसँगको सम्बन्ध एउटा सीमा बाहिर जान नदिने अमेरिकी नीतिअन्तरगत क्वार्ड, इन्डो प्यासिफिक रणनीति आइरहेका छन् । शीतयुद्धको समयमा समेत नेपालले भारत, चीन, अमेरिका र रुसको विश्वास लिन सकेको थियो । तर अहिले राष्ट्रिय स्वार्थ छाडेर लम्पसार पर्ने प्रवृत्ति देखिएको छ । अमेरिकाले एसपीपीमा दबाब दिँदैनौं भनेपछि नेपाल सरकारले पत्र लेख्न किन समय लगायो ? भाङ खाएर निर्णय गरेको त होइन होला नि ?”
अर्को प्रसंगमा डा. लोहनीले नागरिकता विधेयकमा वैवाहिक अंगीकृतका विषय विवादित भएको पनि औंल्याए । उनले भने, “भारतमा विवाह गरी गएका नेपाली चेलीले नागरिकता पाउन सात वर्ष कुुर्नुपर्छ । तर यहाँ भारतीय चेलीलाई विवाह गरेर आउनुबित्तिकै किन नागरिकता दिनुपर्ने ? नमिलेको कुरा त हेर्नुपर्यो नि ।”
पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट् दिने भए कसलाई दोषी ठहराउने हो भन्ने प्रश्न पनि गरे । उनले भने, “नेपालको प्रचलित कानुनअनुसार तीन महिनासम्म राख्नुपर्ने सीसीटीभी फुटेज १३ दिनमै मेट्न लगाउने अर्थमन्त्री भागिदार हुने कि नहुने ? जनार्दन शर्माले कानुन तोड्न पाउँछन् ? खुलेआम कानुन तोड्नेले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ? यस्तै यस्तै काम गरेर नै श्रीलंकाको बेहाल भएको हो । यो नवसामन्तवादको प्रतिविम्ब हो ।”
डा. लोहनी आगामी निर्वाचनको कोसित कसरी कहाँ कहाँ तालमेल गर्ने भन्ने विषयमा राप्रपाले निर्णय गरिनसकेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्