काठमाडौं, १३ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । समितिका सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले हिजै प्रतिवेदन तयार पारेको जनाए । उनले आज (शुक्रबार) दिउँसो ३ बजे सभामुख अग्निप्रसाद सापकोटालाई उक्त प्रतिवेदन बुझाउने तयारी रहेको जनाए ।
शर्मामाथि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप छ । समितिले छानबिनको क्रममा शर्मामाथि लागेको आरोप भने पुष्टि नभएको निश्कर्ष निकालेको छ। समितिले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्रालयको नेतृत्वमा पूनः शर्मा फर्किने प्रवल सम्भावना बढेको सरकारका मन्त्रीहरुले नै दाबी गरेका छन् । हिजोमात्रै शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि शर्मा नै अर्थ मन्त्रालयको नेतृत्वमा आउनेबारे आफू विश्वस्त रहेको बताएका थिए ।
file photo/Mukunda Kalikote-ReportersNepal