एजेन्सी, १३ साउन । कुनैपनि शक्तिराष्ट्रले आफ्नो राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्छ भन्ने उदाहरण साउदी अरबका राजकुमार मोहम्मद विन सलमानलाई यूरोपमा रातो कार्पेट बिछ्याइएको घटनाबाट पुष्टि हुन्छ । सलमान कुनैबेला पश्चिमा देशहरुले खलपात्रको ट्याग लगाएका शासक हुन् ।
वासिङ्टन पोष्टका पत्रकार जमाल खसोगीको टर्कीको इस्तानबुलस्थित साउदी राजदूतावासमा सन् २०१८ मा भएको हत्यामा उनैलाई मुख्य योजनाकारका रुपमा आरोप लगाइएको थियो । यूरोपसहित पश्चिमा देशहरुले सलमानको चर्को आलोचना गरे ।
संयुक्त राष्ट्रसंघले गैरन्यायिक हत्याको ठहर गरेको थियो जसमा साउदी अरबलाई जिम्मेवार ठहरायो । अमेरिकी गुप्तचर निकायहरुले सलमानले योजनालाई अनुमोदन गरेको जसले खसोगीको मृत्यु भएको निष्कर्ष निकालेको थियो ।
सलमानमाथि एकपछि अर्को चुनौती थपियो । विशेषगरी पश्चिमा देशहरुबाट चुनौतीहरु बढे । उनी अप्ठ्यारोमा परे ।
अहिले रुस र युक्रेनबीच युद्ध भएपछि यूरोपमा इन्धन आपूर्ति अवरुद्ध भएको छ । रुसले ग्याँस आपूर्तिमा कटौती गरिरहेको छ । हिउँद यामसम्म कटौती कायमै रहेमा यूरोप ठूलो संकटमा पर्न सक्छ । त्यसैले उनीहरु विकल्प खोज्नतर्फ लागिसकेका छन् ।
साउदी अरबलाई पेट्रोलियम पद्धार्थ र ग्याँस आपूर्ति बढाउन लगाउन यूरोपले पहल थालेको छ । अहिले मोहम्मन बिन सलमानलाई रातो कार्पेट बिछ्याउनुको कारण यही हो । उनी ग्रीस पुग्दा भव्य स्वागत भयो । कुनैबेला सलमानविरुद्ध मानवअधिकार हननको विषय उठाउनेमा ग्रीस पनि थियो । फ्रान्स पुगदा पनि उनलाई रातो कार्पेट बिछ्याइयो । अधिकारवादीले विरोध गरे ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले जुलाईको सुरुमा साउदी भ्रमण गरे । उनले पेट्रोलियम पद्धार्थको उत्पादन वृद्धिमा जोड दिएका थिए । मूल्यवृद्धि अत्याधिक भएकाले कम गर्न वाइडेनले रणनीतिक भ्रमण गरेका थिए । अमेरिकाले सलमानको कुनैबेला चर्को आलोचना गरेको थियो । तर, रणनीतिक स्वार्थका लागि उनैसँग भेट्न वाइडेनले साउदी अरबको भ्रमण गरेका थिए ।
अमेरिकासहित पश्चिमा देशहरु इन्धनको संकट टार्न विकल्पमा जान वाध्य भए । उनीहरु रणनीतिक स्वार्थका लागि कुनैबेला पत्रकारको हत्यामा दोषी मानेर खलपात्र मानिएका सलमानलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने अवस्थामा पुगे । यसबाट शक्तिराष्ट्रहरु आफ्नो राष्ट्रिय स्वार्थ र हितका लागि खलपात्र ठहराएकालाई पनि नायक जसरी स्वागत गर्न तयार हुने पुष्टि हुन्छ ।