Logo

के प्रचण्ड चुनावपछिको प्रधानमन्त्री हो



काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालेका छन् । उनले सार्वजनिक रुपमै आफू चुनावपछि प्रधानमन्त्री बन्ने आशयका अभिव्यक्तिहरु दिइरहेका छन् ।

प्रचण्डले १४ साउनमा पार्टीको प्रशिक्षण कार्यक्रममा आफूले राजनीतिको लाष्ट इनिङका रुपमा प्रधानमन्त्री बनेर सम्झनलायक कार्य गर्ने इच्छा प्रकट गरे । उनले काँग्रेससँग गठबन्धन हुने भन्दै आफू प्रधानमन्त्री बन्ने दाबी गरे ।

यसअघि प्रचण्डले आलोपालो प्रधानमन्त्रीको विषय पनि उठाए । चुनावअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको उल्लेख गर्दै चुनावपछि आफ्नो पालो रहेको प्रचण्डको संकेत थियो । विगतमा पनि देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको सहमति बने अनुसार भएको थियो । यसपटक पनि यस्तै भद्र सहमति भएको विश्वस्त स्रोतले बताएको छ ।

‘भद्र सहमति’ अनुसार चुनावअघि देउवा र चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । तर, त्यसका लागि सत्ता गठबन्धनले बहुमत ल्याउनुपर्छ र प्रचण्डलाई काँग्रेसको पनि साथ मिल्नुपर्छ ।

सत्ता गठबन्धनले चुनावमा बहुमत ल्याउन सजिलो भने छैन । गठबन्धनभित्रै व्यापक असन्तुष्टि छ । विशेषगरी नेपाली काँग्रेसभित्र असन्तुष्टि बढेको छ । धमाधम विद्रोहहरु हुन थालेका छन् । यसले चुनावी नतिजामा असर पर्न सक्छ ।

गठबन्धनले बहुमत नै ल्यायो भनेपनि काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न उत्तिकै कठिन छ । देउवाले चाहँदैमा पनि नहुनसक्छ । काँग्रेसभित्र त्यतिबेला पनि अर्को विद्रोह हुनसक्छ ।

सत्ता गठबन्धनमा प्रधानमन्त्रीका आकांक्षीमा एमाले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत छन् । सबैलाई मनाएर मात्र प्रचण्ड अगाडि बढ्न सक्छन् ।

राजनीति सम्भावनाहरुको खेल हो । भविष्यबारे राजनीतिक पण्डितहरु फेल खान सक्छन् । तर, ‘भद्र सहमति’ अनुसार देउवापछि प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने हो । जुन गठबन्धनले बहुमत ल्याएर सहमति पालना भएमा मात्र सम्भव होला ।-File Photo



प्रतिक्रिया दिनुहोस्