काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले मन्त्रालयको पदभार ग्रहण गरेको दिनदेखि नै देश र जनताको हित हुने काम गरेको दाबी गरेका छन् । उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूहरु दायित्व निर्वाह गरिरहेको सुनाए । तर, यसको मूल जवाफदेहिता भने स्थानीय सरकारको भएकोले आफूहरुले समन्वयकारी भूमिका खेलेको उनको भनाई छ ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई असहयोग नगरेको जिकिर गरे । उनले आफूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जिम्मेवारीपूर्ण कदम चालेको भन्दै काठमाडौंका मेयर साहलाई पनि जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै आग्रह गरिएको पनि सुनाए ।
एमालेले जनार्दन शर्माबारे गरेको विरोधप्रति पनि उनले आपत्ति जनाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनार्दन शर्माले संसदीय छानबिन समितिबाट क्लिनचिट पाएपछि अर्थमन्त्रीमा नियुक्त गरेको सुनाए । एमालेले यो विषयमा संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने पनि उनको भनाई छ । उनले आगामी संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्नेगरि सरकार तयारीमा जुटेको सुनाए ।
मन्त्री चौधरीले आगामी संसद्को निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली पराजित हुने ठोकुवा गरे । उनले भने,‘आज म यो साउन १५ गते तपाईसँग बोल्दैछु, लेखेर राख्नुहोस कि एमाले अध्यक्ष केपी ओलीले कुनैपनि हालतमा चुनाव जित्दैनन् । जित्दै जित्नुहुँदैन् । जनताले जिताउँदैन् ।’ आफू भर्खरै झापा भ्रमण गरेर आएको उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।