काठमाडौं, १६ साउन । यसपटकको प्रतिनिधि सभा चुनाव रोचक हुने संकेतहरु देखिइसकेको छ । चुनावी सर्वेक्षणले पनि हजुबा पुस्ताका नेताहरुलाई सजिलो नभएको रिपोर्ट देखाइसकेको छ ।
विशेषगरी ७५ वर्ष अर्थात सन्यासआश्रमको अवस्थाको उमेरमा पुगिसकेका र पुग्न लागेका नेताहरुलाई स्वतन्त्रको सबैभन्दा ठूलो डर देखिएको छ । स्वतन्त्रका उम्मेदवारहरुमध्ये अधिकांश ४० वर्षभन्दा कमकै छन् । उमेरले ८० कट्न लागेका नेताहरुलाई यसकारण पनि नातिपुस्ताबाट चुनौती लागेको देखिदैछ ।
प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ८० को नजिक छन् । उनीविरुद्ध नाति पुस्ताका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी घोषणा गरिसकेका छन् । आफ्नै पार्टी र मूलधारका राजनीतिक दलका छोरानाति पुस्ताकालाई काबुमा राख्न सकेपनि स्वतन्त्रलाई राख्न नसकिने अवस्था छ । त्यसमाथि स्वतन्त्रको माहोल नै देखिन्छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० कटेका छन् । उनले एमालेको विधान नै परिवर्तन गरेर अध्यक्ष बनिछाडे । ओलीलाई कुनैपनि युवा नेताहरुले चुनौती दिन सकेनन् । उनीभन्दा केही कान्छा डा. भीम रावल, घनश्याम भुसाललगायतले चुनौती दिएपनि केही चलेन । ओली पनि सन्यासआश्रमको अवस्थामा छन् । उनलाई पनि नाति पुस्ताकाले चुनौती दिने भएका छन् त्यो पनि स्वतन्त्रबाट ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ७० को नजिक छन् । उनी पनि सन्यासआश्रमको अवस्था नजिक छन् । तर, अन्तिम इनिङ भन्दै एकपटक प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरिरहेका छन् । प्रचण्डविरुद्ध पनि स्वतन्त्र उम्मेदवारीको घोषणा भइसकेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि ७० टेकेका छन् । सन्यासआश्रमको अवस्था नजिक पुगिसकेका नेपाललाई पनि नाति पुस्ताका स्वतन्त्रले चुनौती दिने देखिएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुर ८० कटिसकेका छन् । उनको उमेर सन्यासआश्रमको चौथाईतर्फ पुगिसकेको छ । उनलाई पनि यो उमेरमा चुनाव लड्न सजिलो छेन ।
देशमा अधिकांश शिर्ष नेताहरु नै ७० र ८० को बीचमा हुनु, पार्टीहरुको नयाँ पुस्तामा नेतृत्व लिने साहस पैदा नहुनुले स्वतन्त्र उम्मेदवारहरुको लहर नै देखिन्छ । यसकारण पनि पाका नेताहरु स्वतन्त्र उम्मेदवारहरुविरुद्ध खनिएका छन् । यतिसम्मकी ७० कटेका कमल थापा पनि कुनैबेला उठाएको राजसंस्थाको मुद्दा छाडेर अझै सत्ताको प्यासमा भड्कन खोजिरहेका छन् ।