Logo

वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउँछु : मन्त्री कुँवर



काठमाडौँ,१६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन् ।

निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवँ ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार गम्भीर भएर लाग्ने बताएको हो ।

“वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उनले भने । वैदेशिक रोजगारीको क्षेत्रमा भएका विविध समस्या समाधानका लागि गैर आवासीय नेपाली सङ्घले खेलेको भूमिका प्रशंसनीय भएको उनको भनाइ छ ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए । एनआरएनएका अध्यक्ष कूल आचार्यले भर्खरै संसद्बाट पारित भएको नागरिकता विद्येयक राष्ट्रको हितमा भएको उल्लेख गरे । उनले नागरिकता विद्येयकले एनआरएनएमा थप उत्साह थपेको बताए ।

अध्यक्ष आचार्यले विभिन्न देशसँग संवाद गरी विदेशमा काम गर्ने नेपालीले आर्जन गरेको रकमको केही हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत नेपाली साथै मुलुकको विकासमा टेवा पुग्ने स्पष्ट पारे । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गरे । रासस



प्रतिक्रिया दिनुहोस्