Logo

विप्लव लगायतका नेताहरूलाई कानुन बमाजिम पक्राउ गर्छौंः प्रहरी प्रवक्ता



काठमाडौं, १७ साउन । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरुलाई कानुन बमाजिम पक्राउ गर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता राईले भने, “उहाँहरुलाई २०७५ फागुनमा नख्खुको एनसेल टावरमा विष्फोट गरेको फौजदारी अभियोगमा सम्मानित जिल्ला अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको हो । हामीले सम्मानित अदालतको आदेश पालना गर्नुपर्छ । हामीले त्यसलाई राजनीतिक रुपमा हेर्न मिल्दैन । अदालतबाट अर्को आदेश नआएसम्म हामीले कानुन बमोजिम गर्ने हो ।”
अर्को प्रंसगमा प्रवक्ता राईले काभ्रेस्थलीमा परिवारको सामूहिक हत्यामा पति दिनेश पाण्डेले नै गरेको पूर्वानुमान गरिएको बताए । उनले थपे, “घटनास्थललाई सरसर्ती हेर्दा बाहिरबाट कोही प्रवेश गरेको देखिँदैन । श्रीमान्ले नै परिवारको हत्या गरेको पूर्वानुमान छ । हामी घटनास्थलको इभिडेन्स, फरेन्सिक रिपोर्टलाई आधार मानेर निर्क्यौलमा पुग्छौं ।”

घटनाअघि पारिवारिक मेलमिलाप नभएको पाइएको पनि उनले जानकारी दिए । राईले भने, “पारिवारिक मेलमिलाप भएको पाइएन । दुईचोटि बालाजु वृत्तको महिला बालबालिका सेलमा गएको पनि थाहा भएको छ । यसलाई क्रिमिनल जस्टिस सिस्टमबाट मात्र होइन, सामाजिक, मनोवैज्ञानिक र आर्थिक दृष्टिकोणले पनि हेर्नुपर्छ ।”

महामारीका कारण समाजमा विगतभन्दा अपराध बढेको पनि डीआईजी राईले औंल्याए । उनले भने, “पान्डेमिकका कारण मनोविज्ञानका असर हुन सक्छ । समाजमा विगतभन्दा अपराध बढेको छ । फ्रस्टेसन एउटा कारण हो । हेर्दा नर्मल देख्छौं तर भित्रभित्रै मानिस डिप्रेसनमा गइरहेको छ । बैंकिङ कसुर, साइबर ठगी, लागूऔषध, आत्महत्या, यौनजन्य हिंसा बढिरहेको देखिन्छ ।”



प्रतिक्रिया दिनुहोस्