काठमाडौं, १७ साउन । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमा संसद् चुपचाप बस्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बार अध्यक्ष घिमिरेले भने, “प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्तावमा गत वर्ष फागुनमै संसदमा दर्ता भएको हो । महाभियोग टुंगो नलाग्दा न्यायपालिका कामुले भरमा चलाउनुपरेको छ । यसबारे हामीले सभामुख अग्नि सापकोटालाई भेटेर संसद् यसरी शान्त बस्न मिल्दैन भन्दै महाभियोगको प्रस्ताव अघि बढाउनुपर्ने भनेका छौं । उहाँले प्रस्ताव अघि बढाउँछौं भन्नुभएको छ ।”
उनले राणा सर्वोच्च फर्कनु असम्भव भएको ठोकुवा पनि गरे । घिमिरेले भने, “न्यायालय दाउपेचबाट मात्र चल्दैन । त्यसको नेतृत्व गर्नका लागि उच्च नैतिक चरित्र चाहिन्छ । अहिलेकै स्थितिमा चोलेन्द्रशमशेर अदालत जाने कल्पनाभन्दा बाहिरको कुरा हो । महाभियोग प्रस्ताव आएपछि त्यसमा व्यापक छलफल भएर एउटा तार्किक निष्कर्षमा पुर्याउनुपर्छ ।”
संसदको निर्वाचन घोषणा भए पनि महाभियोग रहिरहने उनको जिकिर छ । घिमिरले थपे, “चुनावको मिति घोषणा भएपछि संसद् रहन्छ, वा रहँदैन भन्ने बहस छ । तर नोमिनेसनको दिनसम्म संसद् कायमै रहन्छ । त्यसले महाभियोगलाई केही फरक पर्दैन । यथावत् रहन्छ ।”