Logo

चुनावको मुखमा ओलीको पशुपतिनाथ यात्राको सन्देश



काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा सपथ लिंदा ईश्वरको नाम लिन चाहेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिंदा ईश्वरको नाममा सपथ दिलाउन शब्द उच्चारण गर्दा ओलीले त्यो पर्दैन भनेका थिए । यो सुनेर राष्ट्रपति भण्डारीले हाँसो रोक्न नसकेको भिडियो भाइरल नै छ ।

ओली सैद्धान्तिक रुपमा कम्युनिस्ट हुन् । उनी ईश्वरलाई मान्दैनन् । सार्वजनिक रुपमै आफ्नो भगवान नेपाली जनता मात्र भएको बताए । तर, पछिल्लो समय ओलीले राम र अयोध्याको खूबै बखान गरे । उनले हिन्दूहरुले भगवान मान्ने श्रीराम नेपालको र अयोध्या पनि नेपालको भएको दाबी गरे ।

ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा जलहरी राख्न बजेट विनियोजन गराए । पशुपतिको दर्शन गरे । १६ साउनको सोमबार पनि उनी पशुपतिनाथको आरतीमा सहभागी भए ।

पशुपतिनाथको ओलीको यात्रालाई राजनीतिसँग पनि जोडेर हेर्न थालिएको छ । पछिल्लो समय देशमा धर्मको मुद्दा जोडतोडले उठ्न थालेको छ । राजनीतिमा धर्मको सेन्टिमेन्टले निकै भूमिका खेल्ने घटनाक्रमले देखाएको छ । त्यसलाई आफ्नो पक्षमा पार्न पनि ओलीले पशुपतिनाथको यात्रा गर्दै आएका छन् । ऋषिमुनीहरुको दर्शनलाई हरेक भाषणमा उल्लेख गर्छन् ।

कतिपयले ओलीले हिन्दू राष्ट्रको मुद्दा उठाउने विश्वास पनि लिएका छन् । ओलीनिकट एमाले नेता महेश बस्नेतले यो मुद्दा एमालेभित्र छिराउन खोजे । तर, ओलीले स्पष्ट रुपमा कम्युनिस्ट सिद्धान्तलाई नछाड्ने र ईश्वर पनि नमान्ने सन्देशहरु दिइरहेका छन् । उनको धर्म र मठमन्दिरको यात्रा धर्मसँग जोडिएका मतदाताको विश्वास जित्नेसिवाय केही होइन भन्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot