Logo

विप्लवलाई एमालेको साथ



काठमाडौं, १७ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित नेताहरुविरुद्ध पक्राऊ पूर्जी जारी भएकोमा नेकपा एमालेले फिर्ता लिन माग गरेको छ । विप्लवसँग तत्कालीन केपी शर्मा ओली सरकारले ३ बुँदे सहमति गरेकोमा त्यसको उल्लंघन हुने गरी पक्राऊ पूर्जी जारी भएकोमा एमालेले आपत्ती जनाएको हो ।

संसदमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले हिंसाको बाटोबाट ओली सरकारले शान्तिपूर्ण बाटोमा ल्याएकोमा पक्राऊ पूर्जी फिर्ता लिन ध्यानाकर्षण गराए । उनले शान्तिपूर्ण राजनीति गर्ने वातावरण विप्लव समूहलाई मिलाइदिनुपर्ने माग गरे ।

विप्लवलाई योजनावद्ध तरिकाले पेल्न खोजेको चर्चा चलिरहँदा एमालेको औपचारिक धारणा सार्वजनिक भएको हो । एमालेले विप्लवको पक्षमा बोलेको छ । यसबारे माओवादी जनयुद्ध सँगै लडेका प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेपाली काँग्रेसले केही बोलेका छैनन् ।

विप्लवसहितका नेकपाका नेताहरुमाथि ३५ दिनभित्र पक्राऊ गर्न पूर्जी जारी भएको छ । लगत्तै विप्लवले हातमा दही जमाएर नबस्ने भन्दै चेतावनी दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्