दिनेश चौधरी: सपना मल्लले पति कागजी पति सर्जन विकको मृत्युपछि नाता प्रमाणितलगायत काजगपत्र लिएर बीमा दाबी गरिन् । सर्जनको २ करोड ५० लाखको बीमा गरिएको ३७ दिनमात्र भएको थियो । प्रक्रिया पुगेपछि उनले इच्छाइएको व्यक्तिका रुपमा बीमा रकम पाउने भइन् ।
बीमा गरिएको रिलाएन्स इन्सुरेन्सले पनि विशेष कार्यक्रम नै गरेर सपनालाई बीमा वापत्को भुक्तानी हस्तान्तरण गर्यो । रकम जस्तै ठूलो चेक उनलाई हस्तान्तरण गरिएको थियो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल पनि कार्यक्रममा पुगेका थिए । १३ साउन २०७८ मा होटल मेरियटमा विशेष कार्यक्रम गरेर रकम हस्तान्तरण गरियो ।
रकम लिन सपना कालो पोशाकमा मास्क लगाएर पुगेकी थिइन् । रकम दिनेले मास्क लगाएका थिएनन् तर सपनाले लगाएकी थिइन् । कागजी पति वियोगमा रहेकी उनको आँखामा कुनै पीडाभाव थिएन ।
रोचक पक्ष यो छ कि बिमा रकम दिन कार्यक्रममा उपस्थित कसैको मुखमा मास्क थिएन । सामूहिक फोटो खिच्दा पनि सबै मास्कविहिन थिए । तर, बिमाको रकम लिने सपनाले मास्क लगाएकी थिइन् त्यो पनि एउटा होइन दुईवटा । उनले बाहिर कालो मास्क लगाएको देखिन्थ्यो । भित्र सेतो मास्क ।
सपनाको आँखामा कुनै पीडाभाव नझल्कुनले शंका गर्ने ठाउँ बन्यो । त्यसमाथि विवाह नै नक्कली भएको शंका गर्ने ठाउँहरु थिए । बिमा कम्पनीले सार्वजनिक कार्यक्रम गरेर रकम त हस्तान्तरण गर्यो तर आशंका गरेर अनुसन्धानका लागि प्रक्रिया नै बढायो ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले सर्जन बिकलाई बीमावापत् मोटो रकम प्राप्त गर्न शिकार बनाइएको रहस्य खोलिछाड्यो । बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिक विपन्न परिवारका भएका खुलेपछि योजनावद्ध तरिकाले साँढे २ करोड बीमावापत् रकम पाउन सारा ग्रान्डडिजाइन भएको अनुसन्धान बढाउने ठाउँ बन्यो ।
सर्जन विक डिपेन्डेन्ड भीसामा अष्ट्रेलिया लैजाने भनी संगठित गिरोहले नक्कली विवाह गराइदियो । कागजी विवाहपश्चात् नक्कली पत्नी बनिन् सपना मल्ल । उनैलाई इच्छाइएको व्यक्ति राखेर राखेर रिलाएन्स इन्सुरेन्समा बीमा गराए । आम्दानी २ लाख रुपैयाँ प्रतिमहिना देखाइएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्र सर्जन र सपनाको भेट भएको थियो । यसमा संगठित समूह नै लागे । बीमा गराए ।
बीमा गरेको ३७ दिनमा मोटरसाइकल दुर्घटनामा सर्जनको मृत्यु भयो । सपना पतिको मृत्युले वियोगमा रहेको जस्तो देखिन्नथिइन् । बीमा रकम लिंदा पनि आँखामा कुनै पीडाभाव थिएन । तर, हत्याको योजनामा संलग्न भएको खुलेपछि पक्राऊ परिन् । सार्वजनिक गरिंदा उनको आँखाबाट आँसु खसेको देखिन्थ्यो ।
सर्जनलाई २ वैशाख २०७८ मा कोहलपुरमा मिनिबसले ठक्कर दिएको थियो । मिनीबस टोपबहादुर राना क्षेत्रीले चलाएका थिए । सवारी ज्यान मुद्दामा क्षेत्री २ महिना कैद सजायपछि छुटेका थिए ।
सपना मल्लको निकटताबारे अनुसन्धान थाल्दा सञ्जीव अर्यालसँग उनको कुराकानी भएको पत्ता लाग्यो । अर्यालको चालक टोपबहादुर रानासँग कुराकानी भएको खुल्यो । त्यसपछि संगठित गिरोहबारे धेरै तथ्य उजागर भएको थिाये ।
संगठित समूहले बीमा रकम पाउन युवकलाई नक्कली विवाह गराई हत्या सम्मको घटना घटाएको रहस्य खुल्यो । यसमा मुख्य योजनाकार थिए सञ्जीव अर्याल । उनैले सपना मल्लको नक्कली विवाह सर्जन विकसँग गराएका थिए । मिनीबस चालक टोपबहादुर रानालाई तयार गरी मोटरसाइकल दुर्घटना गराई हत्या गराएका थिए । घटनामा सरदार अहमद खाँ, दिपक केसी र ललिता सापकोटा पनि मतियार रहेको प्रहरीको आरोप छ । उनीहरुको संगठित योजनाको रहस्य सीआइबीले खोल्न सक्यो ।
सपनाले रकम त लगिन् तर पैसा बाँडफाँड गरे । सबैभन्दा बढी रकम मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार, दीपक केसीले ६० लाख, सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको खुल्यो । सपना सर्जनको ज्यानको बदला पाएको रकमबाट अष्ट्रेलिया जान लाग्दा समातिइन् । उनले बीमा लिएको एक वर्ष पुगेको थियो । त्यसबीच अष्ट्रेलिया जाने चाँजोपाँजो समेत मिलाएकी थिइन् ।