काठमाडौं, १९ साउन । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै चरणमा ४ मंसिरमा हुने भएको छ । चुनावको मिति राष्ट्रपति समक्ष सिफारिश गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ ।
चुनावमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने निष्कर्ष निस्किएपछि सत्ता पक्ष र प्रतिपक्ष आ आफ्नो रणनीतिमा जुटेका छन् । सत्ता पक्षका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर जाने भएका छन् । उनीहरुबीच सिट बाँडफाँड र भविष्यमा सरकारको आलोपालो नेतृत्वबारे भद्र सहमति भइसकेको बुझिएको छ ।
गठबन्धनमा नेपाली काँग्रेसले आधा र बाँकी दलले आधा प्रत्यक्षतर्फ चुनाव लड्ने गरी तयारी भएको बुझिएको छ । तर, काँग्रेसले कम्तिमा एक सय सिट दाबी गरेको छ ।
नेकपा एमाले पनि गठबन्धनको तयारीमा छ । एमालेले सत्ता गठबन्धनबाहेकका दलहरुसँग कुराकानी बढाएको छ । एमालेले राप्रपा, राप्रपा नेपाल, परिवार दललगायतसँग चुनावी तालमेलका लागि छलफल बढाएको हो ।