Logo

निजगढ विमानस्थल बनाउन बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन : मन्त्री यादव



वीरगञ्ज, २१ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताएका छन् । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिने मन्त्री यादवले बताएका हुन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ४ स्थित सागरनाथमा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री यादवले निजगढ विमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको स्पष्ट पारे । उनले भने,“रुख काटेर जग्गा खाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआब्जा दिने । यस्तो अब चल्दैन । पहिला मुआब्जा पाएको जग्गा खाली गराएर बिमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन ।”

वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउनुहुँदै उनले मन्त्रालयको निर्देशनबमोजिम वन जङ्गलको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन् । वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जङ्गल संरक्षण तदारुकता देखाउन उनले आग्रह गरे । तस्करसँग मिलेर काठ, ढुंगा र गीठीको लाइन दिने जस्ता गुनासोहरु सुनिएको बताउँदै उनले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्