काठमाडौं, २२ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तागठबन्धनका कारण आफ्नो पार्टीलाई कुनै दबाब महसुस नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “गठबन्धन शक्ति वा सामथ्र्यको प्रतीक होइन, कमजोरीको प्रतीक हो । नेपाली कांग्रेसजस्तो एक्लै दुई तिहाइ, एकल बहुमत ल्याएको पार्टीलाई उभिनका लागि चारचारवटा लट्ठी चाहिन्छ भन्ने हो भने त्यो कसरी सबलताको प्रतीक हुन्छ ? सत्ता गठबन्धनका कारण हामीलाई त्यस्तो कुनै दबाब महसुस भएको छैन ।”
नेकपा एमाले मूलतः एक्लै चुनावमा जाने पनि उनको जिकिर छ । ज्ञवालीले थपे, “जनताको माया र विश्वास ठूलो कुरा हो । नेकपा एमाले मूलतः एक्लै जान्छ । तत्काल गठबन्धन दलहरुसँग सहकार्यको सम्भावना छैन । गठबन्धनबाहिरका दलहरुसँग आंशिक तालमेल हुन सक्छ ।”
आफ्नो पार्टी वाम तालमेलको विरोधी नभएको पनि ज्ञवालीले बताए । उनले थपे, “हामीले वाम तालमेल नगरौं भनेका छैनौं । तर हामी कुन वामको कुरा गर्दैर्छौं ? वाम सरकार ढालेर कांग्रेसलाई काँधमा बोक्ने, कांग्रेसलाई पहिलो बनाउने र उसको निगाहमा सधैंभरि सरकारमा बस्नेले वाम तालमेलको कुरा गर्नु गफै त हो सम्धि भनेजस्तो होइन र ?”
साथै ज्ञवालीले वाम गठबन्धनका कुरा गठबन्धनभित्र गठबन्धन गरेर कांग्रेसलाई दबाब दिने रणनीति भएको आरोप पनि लगाए । उनले थपे, “कांग्रेससँग अलग भएर त्रिपक्षीय रुपमा एक्लाएक्लै लडौं न त । प्रचण्ड र माधव नेपालहरु एक्लै लड्न सक्ने अवस्थामा छैनन् । नेपाली कांग्रेसले ५ वर्ष आफ्नै नेतृत्वको सरकार बनाउने लक्ष्य लुकाएको छैन । उनीहरु गठबन्धन छोडेर आउँछन् भने कुनै आग्रह राख्दैनौं । वाम तालमेललाई कार्ड बनाएर बार्गेनिङ गर्ने बिस्तारै बिस्तारै कांग्रेसमा विलयन भएर जाने हो भने पनि एमालेलाई केही भन्नु छैन ।”
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड चीनबाट फर्केपछि वाम तालमेल हुने कुनै सम्भावना नभएको पनि उनले औंल्याए । ज्ञवालीले भने, “वाम तालमेल वा एकता चीन, भारत, जापान गएर हुने होइन । त्यो नेपालमै हुने हो । तत्काल त्यो परिस्थिति बनेको छैन ।”
एमाले उपमहासचिव ज्ञवालीले पार्टी संघीयताको विपक्षमा नभएको पनि दाबी गरे । उनले भने, “हामीले लुम्बिनीमा ६ जना मन्त्री र बागमतीमा ७ जना मन्त्री राखेर प्रदेश सरकार चलाएका थियौं । अहिले झ्याल झ्यालमा मन्त्रालय छन्, गल्लीगल्लीमा मन्त्री छन् । केही मान्छे गलत भए भन्दैमा प्रणालीमै दोष देख्नुहुँदैन । हामी नेपालीमा आफ्नो आनीबानीमा सुधार नखोज्ने प्रवृत्ति छ ।”
धर्म निरपेक्षताका नाममा निश्चित व्यक्तिका आस्थामाथि प्रहार गर्नु गलत भएको पनि उनको टिप्पणी छ । ज्ञवालीले प्रधानन्यायाधीशमाथि महाभियोगको अस्त्र चलाएर अधिकार दुरुपयोग गरिएको आरोप पनि लगाए । उनले थपे,”न्यापालिका प्रमुखलाई महाभियोगको अस्त्र चलाएर निलम्बन गर्ने, तीनचार महिनासम्म छलफलै नगर्ने, गहिरो छानबिन पनि नगर्ने, पदमा फर्कन पनि नदिने भनेको प्रतिशोधको राजनीति हो । यो बिलकुल गलत हो ।”