साउन २२, काठमाण्डौ । प्रतिनिधिसभाका सांसद तथा एमालेका सचिव योगेश भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई अहिलेको सरकारले धरापमा पारेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बजेट बक्तव्यले स्वास्थ्य बीमालाई निजी कम्पनीले चलाउने मनसाय व्यक्त गरेको बताए । जसका कारण अहिले निजी स्वास्थ्य संस्थाले बीमा कार्यक्रम स्थगित गर्न थालेको भट्टराईले बताए । सरकारका कारण लाखौँ मानिसहरु बीमा सेवा पाउनबाट बन्चित रहेको उनले बताए । बजेट बक्तव्यको १५१ नम्बरको बुँदाबाट स्वास्थ्य बीमा कार्यक्रममाथि गम्भीर आघात पुगेको उनको टिप्पणी छ ।
भट्टराईको भनाई यस्तो छ–”बजेट बक्तव्यको १५१ नम्बरको बुँदाबाट यो स्वास्थ्य बीमामाथि गम्भीर आघात पुगेको कुरा फेरी एकपटक म ध्यानाकर्षण गराउन चाहन्छु । यो विषय यो गरिमामय संसदमा हाम्रो पार्टीको तर्फबाट पटक पटक उठाएका छौँ । साथै सत्तापक्षीय कतिपय माननीयज्यूहरुले पनि उठाउनुभएको छ । म धन्यवाद दिन चाहन्छु । १५१ नम्बर बुँदाले यो स्वास्थ्य बीमालाई निजी कम्पनीअन्तरगत चलाउने जुन मनसाय व्यक्त गरेको छ । त्यसकारणले पछिल्ला दिनमा कतिपय स्वास्थ्यकेन्द्रहरुले, अस्पतालहरुले स्वास्थ्य बीमाको सेवा अवरुद्व गरेका छन् ।”
भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका छन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताए ।
अहिले एक लाख रुपैयाँको मात्रै बीमा हुने गरेकोमा अब कम्तिमा १० लाख रुपैयाँको बीमाको व्यवस्था गर्न पनि उनले माग गरे । त्यसैगरी कोरोना बीमाको करिब ६ अर्ब रुपैयाँ अझै भुक्तानी नभएको भन्दै भट्टराईले सरकारको ध्यानाकर्षण गराए ।
सांसद भट्टराईले गंगालाल अस्पतालमा कार्यरत एक जना चिकित्सकको ६० वर्षे उमेरहदका कारण अवकास पाउने भएपछि सरकारले नियम परिवर्तन गरेर उमेरहद ६३ वर्ष पुर्याएको दाबी गरेका छन् । प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्रीले एक जना व्यक्तिका लागि नियम नै परिवर्तन गरिएको भन्दै उनले कडा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री देउवा निकट ६० वर्षीय डा. रवि मल्लको सेवा अवधि बढाउनका लागि शनिबार अवकाशको उमेरहद ६० बाट ६३ वर्ष पुर्याइएको थियो । यही सन्दर्भमा भट्टराईले भने–”म यो सरकारलाई भन्न चाहन्छु, यति बलियो र बहादुर सरकार, त्यो चिकित्सकको नागरिकता खिचेर ४० वर्षको नगारिकता बनाइदिउँ । त्यसो भयो भने उहाँले अर्को २० वर्ष जागिर खान पाउनुहुन्छ ।”