Logo

“निर्वाचनको मिति तोकेपछि संसद् स्वतः विघटन हुन्छ, काम चलाउ संसद्को परिकल्पना कतै गरिएको छैन”



काठमाडौं, २३ साउन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन र संसद् सँगै जान नसक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “निर्वाचनको मिति तोकेपछि सरकार स्वतः कामचलाउ हुन्छ, संसद् पनि स्वतः विघटन हुन्छ । काम चलाउ संसद्को परिकल्पना संसारमा कतै पनि गरिएको छैन । सरकारले नयाँ बजेट, नयाँ नीति र कानुन पास गर्न सक्दैन भने संसद् किन चाहियो ? नयाँ भ्याकेन्सी खुलिसक्यो, पुरानो कायमै छ भन्न भन्न कसरी मिल्छ ? संसद् पनि चलाउने र निर्वाचनमा पनि जाने कसरी सम्भव हुन्छ ? धारा ८५ लाई टेकेर हास्यास्पद ढंगले बहस गर्न मिल्दैन ।”
अहिलेको संसद् नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगको प्रस्ताव निष्क्रिय नहुने त्रिपाठीले बताए । उनले थपे, “प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावको प्रक्रिया तत्काल अघि बढाउनुपर्थ्र्यो । यसमा नेताहरुले धेरै लापरबाही गरे । व्यापक विलम्ब भयो । गम्भीर प्रस्तावलाई मजाकका रुपमा लिनुहुँदैनथ्यो । तर अहिलेको संसद्को कार्यकाल समाप्त भए पनि अर्को संसद्मा यसको छिनोफानो हुन्छ । संसदको कार्यकाल सकिए पनि संसदीय व्यवस्था सकिएको छैन । यसले अर्को संसदमा निरन्तरता पाउँछ ।”
भारतमा न्यायाधीश रामास्वामीविरुद्धको महाभियोग एउटा संसद टुंगोमा पुग्न नसक्दा नयाँ संसद् निष्कर्षमा पुगेको दृष्टान्त पनि उनले दिए । त्रिपाठीले भने, “अर्को संसद्मा रामास्वामीविरुद्धको महाभियोग पारित भएन । तर उनले कन्टोर्भसीमा परें भनेर राजीनामा दिए । चोलेन्द्रशमशेरमा त्यति नैतिकता छैन । बार र बेन्चले माग्दा पनि राजीनामा दिएनन् ।”



प्रतिक्रिया दिनुहोस्